“अपमान, अपशब्द खाएर र भोगेर होला
जीवन संघर्षशील र निडर भएको छ,
सङ्घर्ष गर्ने साहस मिलेको छ”-
भनेर जानुभयो गोदार बाबैले ।
“मलाई निकै पटक लडाएका छन्
निकै पटक झट्का दिएका छन्
त्यसैले त म बलवान छु,
मैले सर्वशक्तिमान हुने मौका पाएँ ”
भनेर जानुभयो खोलाघरे बाबै ।
“जसले राष्ट्र विरोधी काम गर्छ
जसले म मात्रै बाठो हुँ हुन्छ
गफ गरेर नै परिवार धान्छ
देखावटी चन्दन लगाएर हिँड्छ
ऊ थुनामा पर्न बेर छैन”
भनेर जानुभयो जन्तरे बाबै ।
प्रेम र मोहको परिभाषा बुझ्दैनन् सबैले
मोह एकछिनको हुन सक्छ
शारीरिक हुन सक्छ !
तर वास्तव प्रेम
युग युगान्तर हुन्छ,
“सबै देखेको छु मैले नानी हो
प्रेम नभएको शरीरलाई आलिङ्गन गरेर
जीवन निर्वाह हुँदैन
बाटो छोटो हुन्छ”
भनेर गइन् खत्रीनी आमैले ।
साईला बा, जन्तरे बा, पल्लाघरे आमै
र खत्री नी आमै
सबै एक एक ज्ञानका पुस्तक थिए
काफ्ले कान्छो, दाहाल जेठो, दुलाल माइलो, डल्ली बैनी
सबैले “आउटडेटेड बुढाबुढी भने,”ठट्टा गरे,
अङ्ग्रेजीमा बोलेर उपनाम पनि दिए
अनुभवको कदर गरेनन् ।
भ्रष्टाचार, राष्ट्र विरोधी कर्म, विवाह विच्छेद, बेरोजगारी
लागू पदार्थले बेरिएको समाज व्यवस्था ।
आज गाउँमा प्रहरी पसेको हल्ला छ
“सत्यमेव जयते”
र
“स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः
गीताको श्लोक भन्दै गुरुबा मन्दिरतर्फ लाग्नुभयो ।
अध्याय समाप्त भयो ।




