राजु र म नजिकका साथी थियौं । हाम्रो मित्रता सधैं गाढा थियो । दु:ख–सुखका पलमा हामीले एकअर्काको हात थामेका थियौं । तीन वर्षअघिमात्र हाम्रो भेट भएको भएपनि लाग्थ्यो, हामीले धेरै जीवन एकसाथ बिताइसकेका थियौं ।
राजु सरकारी जागिरको तयारीमा व्यस्त थियो । उसका दिन–रात किताब, नोट्स र प्रश्नपत्रहरूसँग बित्थे । ऊ सधैं मेहनतको महत्व बुझाउँथ्यो, संघर्षको कथा सुनाउँथ्यो । उसको त्यो जोश र हिम्मतले मलाई पनि हरेक दिन केही गर्न प्रेरित गर्थ्यो ।
तर केही समयदेखि उसको व्यवहार अलि बदलिएको थियो । ऊ पहिले जस्तै हँसिलो र उर्जावान देखिँदैनथ्यो । कहिले काहीँ उसले गहिरो सास फेर्थ्यो र भन्थ्यो, “सबै मेहनत बेकार जस्तो लाग्छ । के म कहिल्यै सफल हुने छैन ?”
मैले उसलाई सधैं प्रोत्साहन गर्न खोज्थें । “राजु, संघर्ष नै त जीवन हो । तिम्रो मेहनतले फल पक्कै दिनेछ,” म भन्थें । तर, आजको दिन केही फरक थियो ।
त्यो चिसो साँझ, हामी चिया पसलमा बसेका थियौं । हावाले हाम्रा कपडाहरूलाई हल्का सिरिङ्ग पारिरहेको थियो । राजुको अनुहारमा अचम्मको गम्भीरता थियो । लामो मौनतापछि उसले भन्यो, “भैगो, छाडिदेउ !”
उसका यी शब्दहरूले मेरो मनमा गहिरो चोट पुर्यायो । नचाहँदा नचाहँदै पनि आँसु भरिए । म चुपचाप भएँ । के यो नै अन्तिम निर्णय हो ? के उसले यत्तिकै हार मान्ने सोच बनाइसकेको हो ?
मलाई उसलाई सम्झाउन मन लाग्यो । तर, शब्दहरू अड्किए । केही बोल्न सकिनँ । मेरो मनमा एकोहोरो प्रश्न उठ्न थाल्यो- “के मैले उसलाई प्रोत्साहन गर्न पो सकिन ? के मैले केही गल्ती गरेँ, जसले गर्दा ऊ यसरी निराश भयो ?”
तर, धेरै समय चुपचाप बस्न सकिनँ । मैले हिम्मत जुटाएँ र भनें, “राजु, के भन्छौ तिमी? यो तिमीले भन्न सुहाउँछ ? तिमीले नै सधैं मलाई संघर्ष गर, हार नमान भन्न सिकाएको होइन ?”
राजुले गहिरो सास फेर्यो । उसका आँखा कतै टोलाइरहेका थिए । “रोशन, मैले धेरै प्रयास गरें । धेरै रात निद्राविहीन भएर पढें । तर, रिजल्ट सधैं मबाट टाढा छ । अब म यो सबै जारी राख्न सक्दिन,” उसले भन्यो ।
मैले उसको काँधमा हात राख्दै भनें, “राजु, संघर्षको मूल्य कहिल्यै नभुल । आज हार मान्यौ भने तिम्रो अहिलेसम्मको सबै मेहनत व्यर्थ हुन्छ । सफलताको यात्रा कठिन हुन्छ । तर, यो अस्थायी मात्र हो ।”
“तर, कहिले काहीँ यस्तो लाग्छ, जति प्रयास गरेपनि केही नहुने रहेछ । अब थाकिसकेको छु,” राजुले गम्भीरताका साथ भन्यो ।
“राजु, सफलतामा पुग्न समय लाग्छ । कहिले काहीँ थकानले जितको ढोका बन्द भएको जस्तो देखिन्छ । तर, त्यस ढोकालाई खोल्ने शक्ति तिमीभित्रै छ । संघर्षले नै तिमीलाई बलियो बनाउनेछ,” मैले उसलाई सम्झाएँ ।
राजु केही समय मौन बस्यो । उसको अनुहारमा विचारहरू दौडिरहेको देखिन्थ्यो । केही क्षणपछि उसले गहिरो सास फेर्यो र भन्यो, “साच्चै, मैले जीवनलाई छोटो समयमा निर्णय गर्न खोजेछु । म अब पुन: प्रयास गर्नेछु ।”
त्यो पलमा मैले महसुस गरें, संघर्ष केवल लक्ष्यमा पुग्ने माध्यम मात्र होइन, यो हाम्रो धैर्य, आत्मविश्वास र मित्रताको परीक्षण पनि हो ।
त्यस साँझ राजुले नयाँ जोश र हिम्मतका साथ आफ्नो यात्रालाई फेरि सुरु गर्ने निर्णय गर्यो । उसले बुझ्यो, असफलताहरू अस्थायी हुन्छन्, तर ती असफलताहरूले नै सफलता तर्फको मार्ग बनाउँछन् ।
अन्त्यमा, राजुको त्यो पलले मलाई पनि जीवनको एउटा अमूल्य पाठ सिकायो । संघर्ष भनेको जीवनको हिस्सा हो । कहिल्यै हार मान्नु हुँदैन । जीवनका प्रत्येक मोडले केही नयाँ पाठ दिन्छ, र हरेक असफलता सफलता तर्फको एउटा कदम हो ।
“भैगो, छाडिदेउ” भन्ने राजु, आज फेरि आफ्नो सपनालाई पुरा गर्न अघि बढिरहेको छ । उसको त्यो निर्णयले हाम्रो मित्रतालाई अझ मजबुत बनायो ।




