एजेन्सी । विश्वविख्यात तबला वादक उस्ताद जाकिर हुसैनले ७३ वर्षको उमेरमा संसारबाट बिदा लिए । उनी मुटु सम्बन्धी समस्याबाट पीडित थिए । जाकिर हुसैन महान तबला वादक मात्रै नभई बहुप्रतिभाशाली व्यक्तित्व पनि थिए । उनले आफ्नो कला मार्फत दुनियाभरका कला प्रेमीहरूलाई प्रभावित पारे ।
उनको सोलो एल्बम ‘मेकिङ म्युजिक’ले उनलाई ठूलो लोकप्रियता दिलायो । उनलाई यो सफलता कत्तिको ठूलो हुनेछ भन्ने थाहा थिएन । संगीतकारका रूपमा मात्र नभई उनले केही चलचित्रमा अभिनय पनि गरेका थिए । ‘द परफेक्ट मर्डर’, ‘मिस बीटीज चिल्ड्रन’, ‘साज’ र ‘मंटो’ जस्ता चलचित्रहरूका लागि उनले काम गरेका थिए ।
अभिनेता जाकिर हुसैन
जाकिर हुसैनले १९८३ मा प्रदर्शन भएको चलचित्र ‘हीट एन्ड डस्ट’बाट अभिनय सुरु गरेका थिए । यस चलचित्रमा शशि कपूर प्रमुख भूमिकामा थिए । १९९८ मा प्रदर्शन भएको चलचित्र ‘साज’मा उनले शबाना आजमीसँग प्रमुख भूमिका निर्वाह गरेका थिए । यस चलचित्रले आफ्नो कथा वस्तुको कारण धेरै विवाद खडा गरेको थियो । शबाना आजमीको प्रेमीको भूमिकामा उनको अभिनयलाई अत्यधिक सराहना गरिएको थियो ।
पिताको संगीतले भरिएको जीवन
जाकिर हुसैनको परिवारको संगीतसँग गहिरो सम्बन्ध थियो । उनका पिता उस्ताद अल्लाह रक्खा पनि प्रख्यात तबला वादक थिए । तीन वर्षको उमेरदेखि नै जाकिरले आफ्नो पिताबाट संगीतको शिक्षा लिएका थिए । उनका पिताले पण्डित रविशंकर र अली अकबर खानजस्ता महान संगीतकारहरूसँग पनि काम गरेका थिए ।
५ वटा ग्रामी अवार्ड विजेता
जाकिर हुसैनलाई भारत सरकारले १९८८ मा पद्म श्री, २००२ मा पद्म भूषण र २०२३ मा पद्म विभूषणबाट सम्मानित गरेको थियो । उनलाई संगीत नाटक अकादमी पुरस्कार, संगीत नाटक अकादमी फेलोशिप र २०१८ मा रत्न सदस्यबाट पनि सम्मानित गरिएको थियो ।
उनले आफ्नो जीवनमा ५ वटा ग्रामी अवार्ड जितेका थिए । २०२४ को फेब्रुअरीमा मात्र उनले ३ वटा ग्रामी अवार्ड जितेका थिए । जाकिर हुसैनले कथक नृत्याङ्गना तथा शिक्षिका एन्टोनिया मिनेकोलासँग विवाह गरेका थिए, जो उनकी प्रबन्धक पनि थिइन् । उनका दुई छोरीहरू अनीसा कुरेशी र इसाबेला कुरेशी छन् । उनको संगीत, कला र योगदानले उनलाई सधैं अमर बनाइराख्नेछ ।






