एजेन्सी । सन् २०२४ भारतीय मनोरञ्जन उद्योगका लागि विवाद र चर्चाको वर्ष रह्यो । यस वर्ष थुप्रै अभिनेता र अभिनेत्रीका व्यक्तिगत जीवनदेखि व्यावसायिक मुद्दाहरूले व्यापक ध्यान खिचे । बलिउडदेखि दक्षिण भारतीय सिनेमासम्मका विवाद र घटनाहरूले दर्शकलाई चकित तुल्याए ।
ऐश्वर्या र अभिषेकको डिभोर्सको चर्चा
ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनको सम्बन्धविच्छेदको खबरले बलिउडमा ठूलै हलचल मच्चायो । विभिन्न अवसरमा छुट्टाछुट्टै देखा परेका कारण उनीहरूको वैवाहिक जीवनमा दरार आएको अनुमान गरिएको थियो । मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाहमा उनीहरू अलग-अलग देखिएपछि यो चर्चा झनै बलियो भयो ।
तर, अभिषेक बच्चनले यस बारे प्रतिक्रिया दिँदै आफूहरू अझै विवाहित रहेको र सम्बन्धविच्छेदको हल्ला निराधार भएको स्पष्ट पारे । छोरी आराध्याको वार्षिक समारोहमा उनीहरूसँगै देखिएपछि यो विवाद लगभग समाप्त भएको थियो ।
पुनम पाण्डेको मृत्युको झुटो खबर
फेब्रुअरी २०२४ मा मोडल पुनम पाण्डेले पाठेघरको मुखको क्यान्सरको कारण मृत्यु भएको खबर फैलाइन् । तर, यो एक मार्केटिङ रणनीति भएको खुलासा भयो । पुनमले भिडियोमार्फत क्यान्सर बारे जनचेतना फैलाउन यस्तो गरेकी थिइन् । यो घटनाले सामाजिक सञ्जालमा ठुलो चर्चा पायो ।
कंगना रनौतमाथि थप्पडको घटना
बलिउड अभिनेत्री कंगना रनौतले मण्डी लोकसभा चुनाव जितेपछि एउटा अचम्मको घटनाको सामना गरिन् । दिल्ली जाने क्रममा चण्डीगढ एयरपोर्टमा उनलाई एक सीआईएसएफ गार्डले थप्पड हानेको खबर सार्वजनिक भयो । कंगनाले सामाजिक सञ्जालमा यो घटना बारे जानकारी दिँदै भिडियो शेयर गरिन् ।
सलमान खानको घरबाहिर गोलीकाण्ड
एप्रिल २०२४ मा सलमान खानको मुम्बईस्थित ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलेको थियो । ज्यान मार्ने धम्की पाइरहेका सलमानलाई लक्षित गर्दै लरेन्स बिश्नोई गिरोहले यो गोलीकाण्ड गराएको दाबी गरेको थियो । यो घटनाले सुरक्षा व्यवस्था माथि प्रश्न उठायो ।
अल्लु अर्जुन पक्राउ
दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको फिल्म पुष्पा २ को प्रिमियरमा भएको घटनाले विवाद निम्त्यायो । प्रिमियरको भीडमा भागदौड मच्चिँदा एक महिलाको मृत्यु भएको थियो । यस मामिलामा अल्लु अर्जुनलाई पक्राउ गरिए पनि उनी धरौटीमा रिहा भए । अहिले पनि यो मुद्दा अदालतमा विचाराधीन छ ।
सन् २०२४ भारतीय सिनेमा उद्योगका लागि विवादास्पद र घटना-प्रधान वर्ष रह्यो । यी घटनाले दर्शकहरूलाई मात्र होइन, फिल्म उद्योगलाई समेत प्रभाव पारे ।






