संसारमा अर्बौं मानिस छन्, तर नेतृत्वको भूमिका कुनै न कुनै रूपमा सबैले निर्वाह गरिरहेका हुन्छन् । चाहे त्यो घरको सानो समूह होस्, परिवारको सन्तुलन होस्, समाजको संरचना होस् वा कुनै ठूला संघ संस्थाको संगठन होस्, नेतृत्व सधैं आवश्यक छ । नेतृत्व एक कला हो, जसले समूह, संगठन वा समुदायको सफलता र प्रगति सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।
हरेक जीवित प्राणी कुनै न कुनै रूपले नेतृत्वको दायरामा रहेको हुन्छ । माहुरीको घारमा रानी माहुरीले नेतृत्व गर्छिन्, जबकि जंगली जनावरका समूहहरूमा पनि नेतृत्वको आवश्यकता हुन्छ । नेतृत्व केवल शक्ति वा पदको नाम होइन, यो जिम्मेवारी, दृष्टिकोण र प्रेरणाको संयोजन हो, जसले समूह वा व्यक्तिलाई सही मार्गमा अगाडि बढ्न मद्दत गर्दछ ।
नेतृत्व विकास
नेतृत्व विकास भन्नाले कुनै व्यक्तिको नेतृत्व क्षमतामा सुधार गर्न गरिने प्रयास र प्रक्रियालाई जनाउँछ । सबै व्यक्तिले नेतृत्व गर्ने चाहना राख्दैनन्, र जसले राख्छन् पनि ती सबै नेतृत्वमा पुग्छन् भन्ने हुँदैन । नेतृत्व विकासका लागि व्यक्तिले आफूलाई गहिरो रूपमा बुझ्नुपर्छ । आफ्नो सबल पक्ष र कमजोर पक्षको पहिचान गर्नुपर्छ । आत्म-चेतना र आत्म-सुधार नेतृत्व विकासको पहिलो चरण हो ।
राम्रो नेतृत्वकर्ता बन्नका लागि व्यक्तिले आफ्ना विचार र व्यवहारलाई संवेदनशील बनाउनु पर्छ । अरूका भावना बुझ्न र सहानुभूतिसाथ व्यवहार गर्न सक्नुपर्छ । सहानुभूति मात्र नभई परिस्थितिको सूक्ष्म अध्ययन गरी समयानुकूल निर्णय गर्न सक्ने क्षमता नै प्रभावकारी नेतृत्वको आधार हो ।
नेतृत्व विकासको अर्को महत्त्वपूर्ण पाटो दृष्टिकोण र रणनीतिक सोच हो । दीर्घकालीन लक्ष्य निर्धारण गर्न सक्ने, त्यसका लागि योजना बनाउन सक्ने र समूहलाई त्यो लक्ष्यतर्फ अघि बढाउन सक्ने क्षमता नेतृत्वकर्तामा हुनुपर्छ । यसका लागि स्पष्ट र प्रभावकारी सञ्चार अपरिहार्य हुन्छ । नेतृत्वकर्ताले आफ्ना विचार प्रष्ट रूपमा प्रस्तुत गर्न, समूहसँग सहकार्य गर्न र टीमलाई प्रेरित गर्न सक्नुपर्छ ।
नेतृत्व क्षमता
नेतृत्व क्षमता भन्नाले कुनै व्यक्तिले समूहलाई मार्गदर्शन गर्ने, चुनौतीहरूको सामना गर्ने, र प्रभावकारी निर्णय गर्ने सामर्थ्यलाई जनाउँछ । नेतृत्व क्षमता व्यक्तिको ज्ञान, सीप, समस्या समाधान गर्ने क्षमता र समय व्यवस्थापनमा आधारित हुन्छ ।
सक्षम नेतृत्वकर्ताले सधैं भविष्यलाई देखेर निर्णय गर्छ । उसले लक्ष्य निर्धारणमात्र होइन, त्यसलाई कार्यान्वयन गर्ने ठोस योजना पनि बनाउँछ । यो दूरदृष्टि नेतृत्व क्षमताको प्रमुख पक्ष हो । त्यस्तै, आफ्नो कार्यक्षेत्रमा गहिरो ज्ञान र सीपको उपस्थिति पनि नेतृत्व क्षमताको महत्वपूर्ण पक्ष हो । नेतृत्वकर्ताले जति स्पष्टतापूर्वक आफ्नो कामको बारेमा बुझ्छ, उति नै सहज तरिकाले समूहलाई मार्गदर्शन गर्न सक्छ ।
समस्या समाधान गर्ने क्षमता कुशल नेतृत्वकर्ताको अर्को महत्त्वपूर्ण गुण हो । नेतृत्वकर्ताले समस्या देख्दा मात्र होइन, त्यसको वैकल्पिक समाधान खोज्न सक्नुपर्छ । चुनौतीहरूको सामना गर्दा सृजनात्मक र नवीन विचार प्रस्तुत गर्ने क्षमता नेतृत्वकर्तामा हुनैपर्छ ।
नेतृत्व चयन
नेतृत्व चयन भन्नाले कुनै समूह वा संगठनका लागि उपयुक्त व्यक्तिलाई नेतृत्वका लागि छनोट गर्ने प्रक्रियालाई जनाउँछ । नेतृत्व चयनले समूहको भविष्य र प्रगतिको बाटो निर्धारण गर्छ । सफल नेतृत्व चयनका लागि सर्वप्रथम, व्यक्तिको क्षमता मूल्याङ्कन गर्नुपर्छ । नेतृत्वकर्ताको व्यक्तिगत गुण, टीमसँगको सम्बन्ध र कार्य सम्पादन शैलीका आधारमा उसको नेतृत्व क्षमता निर्धारण गरिन्छ ।
नेतृत्व चयनको अर्को महत्त्वपूर्ण पक्ष सही व्यक्तिलाई सही स्थानमा नियुक्त गर्नु हो । योग्य व्यक्तिलाई जिम्मेवारीमा चयन गर्नाले समूह वा संगठनलाई प्रगतिपथमा अगाडि बढ्न सजिलो हुन्छ । त्यसैले, नेतृत्व चयन गर्दा मात्र व्यक्तिगत क्षमतामात्र नभई उसको व्यवहारिकता र दृष्टिकोण पनि ध्यानमा राख्नुपर्छ ।
अतत: नेतृत्व विकास, नेतृत्व क्षमता र नेतृत्व चयन एक अर्कासँग गहिरो रूपमा सम्बन्धित छन् । नेतृत्व विकासले व्यक्तिलाई सक्षम बनाउँछ । नेतृत्व क्षमताले प्रभावकारी कार्य सम्पादन सुनिश्चित गर्छ । नेतृत्व चयनले उपयुक्त व्यक्तिलाई सही स्थानमा पुर्याउँछ । यी तीन पक्ष सफल नेतृत्वको आधारशिला हुन् ।
नेतृत्वले केवल समूहलाई मात्र होइन, व्यक्तिको व्यक्तिगत र पेशागत जीवनलाई समेत सशक्त बनाउने सामर्थ्य राख्छ । नेतृत्व प्रभावकारी बनाउन निरन्तर सुधार, सहकार्य र दूरदृष्टि आवश्यक हुन्छ ।




