सिरहा । सिरहाको गोलबजार नगरपालिका ११ बलकवा बजारनजिक मैनावत्ती नदीको पुलमुनि बसेका मुसहर समुदायको जीवन अत्यन्त कष्टपूर्ण छ । बैशाखको घाम, वर्खेझरीको पानी र जाडोको कठ्याङ्ग्रिने शीतलहरले उनीहरूको दैनिकी झनै कठिन बनाएको छ ।
पुलमुनि झन्डै ४० घर मुसहर परिवार बस्छन् । उनीहरूले खर, पराल र वनमारा सामग्रीले अस्थायी टहराहरू बनाएका छन् । ओढ्ने ओछ्याउने सामग्रीको अभाव, अन्नको कमी र कठोर जाडोले उनीहरूको जीवन संघर्षमय छ ।
कामको अभाव र कठ्याङ्ग्राउने जाडोका कारण समुदायमा भोकभोकै रात बिताउने स्थिति छ । बस्तीका अधिकांश परिवारले आफ्नो चुल्हो बाल्न सकेका छैनन् । ओढ्ने ओछ्याउने सामग्री अभावमा जाडो सामना गर्न गाह्रो भइरहेको छ ।
पश्चिमी सिरेटोले बालबालिका बिरामी बनाइरहेको छ । बस्तीका बालबालिकाहरू चिसोले थिलथिलो अवस्थामा छन् । नगरपालिकाले बस्तीमा दाउरा, अन्न, न्यानो कपडा वा औषधि पुर्याउन सकेको छैन ।
बजार क्षेत्रमा सम्पन्न वर्गलाई दाउरा वितरण गरिएपनि मुसहर बस्तीले कुनै राहत पाएको छैन । यसले समुदायमा आक्रोश बढाएको छ । पुलनजिकै माघ महिनामा हुने धार्मिक मेलाका लागि नगरपालिकाले ठूलो रकम खर्च गरेको छ । मेलाका लागि जग्गा बाँडफाँड भइरहेको छ, तर नजिकैको मुसहर बस्तीको समस्यामा नगरपालिकाले ध्यान दिएको छैन ।
मुसहर समुदायका अगुवाहरूले सरकार र समाजको उपेक्षा प्रति रोष व्यक्त गरेका छन् । उनीहरूले तत्काल राहत सामग्री, औषधोपचार र न्यानो कपडाको व्यवस्था गर्न आग्रह गरेका छन् । मुसहर बस्तीको कठोर अवस्था सामाजिक न्याय र समानताका लागि चुनौती बनेको छ ।




