सिरहा । सिरहा जिल्लाको लहान नगरपालिका १६ स्थित तरेगणा गोविन्दपुरमा वर्षौंदेखि अलपत्र रहेको खानेपानी आयोजनाको काम पुन: सञ्चालन भएको छ । आइतबारदेखि नगरप्रमुखको पहलमा खानेपानीको डिप बोरिङ जडानको काम सुरु गरिएको हो ।
लहान नगरपालिका, वाटर एड, नेपाल खानेपानी संस्थान अन्तर्गत शाखा कार्यालय लहान र दलित जनकल्याण युवा क्लबको सहकार्यमा सञ्चालित ‘द विकन परियोजना’बाट करिब ६० लाख रुपैयाँको लागतमा बोरिङ जडानको काम अघि बढाइएको छ ।
नगरप्रमुखले आयोजनाको काम सञ्चालन भएसँगै यस क्षेत्रमा खानेपानीको अभावबाट चाँडै मुक्ति पाइने विश्वास व्यक्त गरेका छन् । परियोजनाले गरेका सर्भे अनुसार, करिब १,०४१ घरधुरीमा खानेपानीका धारा जडान गरिनेछ भने ८,३९४ स्थानीयवासी लाभान्वित हुनेछन् ।
खानेपानी संस्थान लहान शाखाका वितरण महाशाखा प्रमुखका अनुसार २ लाख २५ लिटर क्षमताको पानी भण्डारण गर्न ओभरहेड ट्याङ्क निर्माण सम्पन्न भइसकेको छ ।
लहान नगरपालिका १६ र १७ का स्थानीयवासी वर्षौंदेखि खानेपानीको समस्या समाधानका लागि संघर्षरत थिए । अब यस आयोजनाले खानेपानीको अभावबाट पीडित स्थानीयवासीलाई दीर्घकालीन समाधान दिने विश्वास गरिएको छ ।




