एजेन्सी । बलिउड अभिनेत्री अमिषा पटेल, जसले सन् २००० मा फिल्म ‘कहो ना प्यार है’बाट डेब्यु गरेकी थिइन्, अहिले ४९ वर्ष पुगिसकेकी छिन् । करियरको सुरुवातमा ब्लकबस्टर फिल्महरू ‘कहो ना प्यार है’ र ‘गदर : एक प्रेम कहानी’ दिएर सफलता हासिल गरेकी अमिषाको फिल्मी यात्रा पछि भने धेरै उतारचढावपूर्ण रह्यो ।
विवाह नगरेकी अमिषा अहिले पाकिस्तानी अभिनेता इमरान अब्बाससँग जोडिएका हल्लाका कारण चर्चामा छिन् । केही समयअघि सार्वजनिक भएको अमिषा र इमरानको तस्बिरले यस्तो हल्लालाई थप उचाइमा पुर्याएको छ । तर, यस बारे हालै अमिषाले दिएको एक अन्तर्वार्तामा यी सबैलाई ‘अफवाह’ भन्दै खारेज गरिन् ।
अमिषाले हिन्दी रशलाई दिएको अन्तर्वार्तामा यस विषयमा खुलासा गर्दै भनिन्, “यी सबै अफवाह हुन्, यसको कुनै आधार वा सत्यता छैन । दुई तीन वर्षदेखि यस्तै हल्ला चलिरहेको छ । जब हामी कुनै समारोहमा भेट्छौं, तस्बिर खिचिन्छ, अनि मानिसहरूले यसलाई अन्यथा लिन्छन् । इमरान र म राम्रो साथी हौं, अरू केही होइन ।”
अमिषाले थप स्पष्ट पार्दै भनिन्, “हामी दुबै अविवाहित छौं । यसैले मान्छेहरू हल्ला फैलाउन खोज्छन् । तर, म यो स्पष्ट गर्न चाहन्छु कि हामीबीच कुनै पनि प्रकारको प्रेम सम्बन्ध छैन ।”
पाकिस्तानी अभिनेता इमरान अब्बास १५ अक्टोबर १९८२ मा इस्लामाबादमा जन्मिएका हुन् । उनी पाकिस्तानी फिल्म र टेलिभिजनका चर्चित कलाकार हुन् । इमरानले बलिउडमा फिल्म ‘क्रिएचर थ्रीडी’ (२०१४) र ‘ए दिल है मुश्किल’ (२०१६) मा अभिनय गरेका थिए ।
इमरान र अमिषाबीचका केही तस्बिर भाइरल भएपछि यी दुईको विवाहको हल्ला फैलिए पनि दुवैले यसलाई केवल ‘अफवाह’ भएको बताएका छन् ।






