काठमाडौं । चितवनमा प्रहरीले एक युवकलाई गरेको निर्घात कुटपिटको घटना सार्वजनिक भएपछि त्यस प्रति चौतर्फी आलोचना भइरहेको छ । यसै क्रममा, चर्चित गायिका आस्था राउतले सामाजिक सञ्जालमार्फत प्रहरीको व्यवहारलाई कटाक्ष गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै उनले ‘बोल्नै नहुने कस्तो गणतन्त्र हो सरकार ?’ भन्दै प्रश्न उठाएकी छन् ।
आस्था राउतको आलोचना
आस्थाले आफ्नो पोस्टमा लेखेकी छिन्- “न्वारन देखिको बल निकालेर ठोक्नु भएछ नि त्यो भाइलाई मामा… हाम्रो देशमा कुटेरै तह लगाउँछौँ भनेर ठोक्छन । संस्कार सिकाउन कुट्नु समाधान हैन तर कुटेरै ठिक पार्नुपर्छ भन्ने चलन परिवर्तन हुनुपर्छ ।”
उनले कुटपिटले मानिसको मानसिक अवस्था माथि गम्भीर असर पुर्याउन सक्ने उल्लेख गर्दै यस्तो आचरणले मानवीय संवेदनशीलता गुम्ने चेतावनी पनि दिएकी छिन् ।
भिडियो भाइरल र घटनाको पृष्ठभूमि
सोमबार सामाजिक सञ्जालमा चितवनको भरतपुर महानगरपालिकास्थित बाइपास सडक खण्डमा सवारी जाँचका क्रममा एक युवकलाई प्रहरीले कुटेको भिडियो भाइरल भएको थियो । भिडियोमा प्रहरीले सार्वजनिक स्थलमै युवकलाई निर्घात पिटिरहेको देखिएको छ ।
आस्थाको थप टिप्पणी
आस्थाले घटनाको प्रकृति र प्रहरीको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै लेखेकी छिन्, “विदेशमा अपराधीलाई समेत यसरी हात लगाउँदैनन् । जरिवाना तोक्ने, थुनामा राख्ने वा कानुनी कारबाही गर्न सकिन्थ्यो । तर, बिच सडकमा यसरी निर्घात पिट्नु कस्तो निरङ्कुश शासन हो ?”
आलोचना र सुधारको माग
यो घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । मानव अधिकारकर्मीहरूले पनि यस्तो व्यवहार प्रहरीको अधिकार क्षेत्र बाहिरको भन्दै सुधारको माग गरेका छन् । प्रहरीले भने यस घटना बारे आवश्यक छानबिन गरिरहेको बताएको छ ।






