वीरगञ्ज । चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा पर्सा जिल्लामा ६ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार कार्तिक, मंसिर र पुस महिनामा दुई दुई जना गरी ६ जनाले नागरिकता परित्याग गरेका हुन् ।
विदेशमा स्थायी रूपमा बसोबास गर्न चाहने व्यक्तिहरूले नागरिकता परित्याग गरेको प्रशासनले जनाएको छ । चालू आर्थिक वर्षको साउनदेखि पुससम्मको अवधिमा १२ जनाले पर्साबाट लिएको नेपाली नागरिकता परित्याग गरेका छन् ।
साउनमा ४ जना, भदौमा १ जना र असोजमा १ जनाले नागरिकता परित्याग गरेको तथ्यांक छ । त्यसैगरी, बितेको तीन महिनामा पर्सा जिल्लाबाट २ हजार ९ सय जनाले नयाँ नेपाली नागरिकता लिएका छन् ।
कार्तिक महिनामा ८९१ जनाले, मंसिरमा ९५६ जनाले र पुस महिनामा १ हजार ५३ जनाले नयाँ नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसैगरी नागरिकताको प्रतिलिपि लिने सेवाग्राहीहरूको संख्या पनि उल्लेखनीय छ । तीन महिनामा २ हजार ७९ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयले नयाँ भवनबाट सेवा दिन थालेपछि प्रशासनका कामहरू छिटो छरितो हुन थालेको सेवाग्राहीहरूले बताएका छन् । नयाँ भवनमा स्थानान्तरणपछि सेवा प्रभावकारी भएको जनाउँदै प्रशासनले नागरिकता लिने र सम्बन्धित कार्यहरूलाई सहज बनाएको छ ।




