सर्लाही । माओवादी केन्द्र सर्लाहीले झूटा मुद्दामा फसाउन खोजिएको भन्दै आइतबार मोटरसाइकल ल्यालीसहित विरोध प्रदर्शन गरेको छ । सर्लाहीको बाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापा र उपप्रमुख लीला मोक्तानलाई वन मुद्दामा फसाउन खोजेको आरोपमा माओवादी केन्द्रले हरिवनबाट शुरू गरी लालबन्दीमा पुगेर जिल्ला वन कार्यालय घेराउ गरेको हो ।
माओवादी केन्द्रका अनुसार बाग्मती नगर क्षेत्रमा खाली पर्ती जग्गामा सुकुमबासी बस्ती बसाल्ने कामलाई लिएर जिल्ला वन कार्यालयले मुद्दा दायर गरेको छ । यस विषयलाई माओवादीले राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै सरकारको कदमको कडा विरोध गरेको छ ।
नगरप्रमुख थापा र उपप्रमुख मोक्तान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतमा मुद्दा दायर गरेपछि हाल निलम्बित छन् । माओवादी केन्द्रले यो कार्यलाई जनप्रतिनिधिहरूलाई कमजोर बनाउने षड्यन्त्रको रूपमा लिएको बताएको छ ।
यसअघि, माओवादी केन्द्रले मधेस प्रदेशका मुख्यमन्त्री र वनमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै झूटा मुद्दा फिर्ता नलिए थप चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको थियो । माओवादी केन्द्रले झूटका आधारमा जनप्रतिनिधिलाई फसाउन खोज्ने कार्य अस्वीकार्य भएको भन्दै सरकारलाई न्यायसंगत र निष्पक्ष हुन आग्रह गरेको छ ।




