पर्सा । पेशागत हकहितका लागि ठोरीका शिक्षकहरूले एक्यबद्धता जनाउँदै विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । विद्यालय शिक्षा विधेयक संसद्को जारी हिउँदे अधिवेशनबाट पारित गराउन दबाब दिने उद्देश्यले ठोरीमा शिक्षकहरूको आन्दोलन परिचालन समिति गठन भएको हो । नेपाल शिक्षक महासंघ केन्द्रीय समितिको समन्वयमा गठन भएको समितिको संयोजक नेपाल शिक्षक महासंघ, ठोरीका अध्यक्ष अमृत श्रेष्ठ चयन भएका छन् ।
२५ सदस्यीय उक्त समितिमा नेपाल राष्ट्रिय शिक्षक संगठन, ठोरीका अध्यक्ष गापीलाल श्रेष्ठ सहसंयोजक तथा अखिल नेपाल शिक्षक संगठन, ठोरीका अध्यक्ष दिपेन्द्र सापकोटा सचिवका रूपमा चयन भएका छन् । नेपाल शिक्षक महासंघ, ठोरीका अध्यक्ष विदुर सापकोटालाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ ।
आन्दोलनका कार्यक्रमहरू
ठोरी गाउँपालिका ४ स्थित ज्ञानज्योति माविमा बुधबार बसेको बैठकले विभिन्न आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ । बैठकमा विभिन्न शिक्षक संघ संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
– फागुन ६ गते ठोरी गाउँपालिकामा खबरदारीसहित ध्यानाकर्षणपत्र बुझाइने ।
– फागुन ८ गते ठोरीका सबै विद्यालयमा अभिभावक र विद्यार्थीको सहभागितामा अन्तक्रिया कार्यक्रम आयोजना गरिने ।
नेपाल शिक्षक महासंघ, ठोरीका अध्यक्ष अमृत श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा ठोरीका विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरूको उल्लेखनीय उपस्थिति थियो । शिक्षकहरूको पेशागत हकहित र निवृत्तिभरणबाट वञ्चित शिक्षकहरूको अधिकारका लागि दबाबमूलक कार्यक्रमहरू अघि बढाइने संघर्ष समिति, ठोरीका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।
शिक्षकहरूको माग सम्बोधन गराउन सरकार र सम्बन्धित निकायहरूसँग वार्ताको पहल गरिने र आवश्यक परे थप सशक्त आन्दोलनका कार्यक्रम ल्याइने महासंघका पदाधिकारीहरूले बताएका छन् ।




