एजेन्सी । फेब्रुअरीको दोस्रो हप्ता सुरु हुनासाथ शहरका गल्ली, पसल र रेस्टुरेन्टहरू राताम्य गुलाब, चकलेट, टेडी बियर र गिफ्टका थुप्रै विकल्पले भरिन्छन् । भ्यालेन्टाइन सप्ताहभरि हरेक दिनलाई प्रेमसँग जोडेर मनाइन्छ- रोज डे, प्रपोज डे, चकलेट डे, टेडी डे, हग डे, किस डे अनि अन्त्यमा भ्यालेन्टाइन डे !
हेर्दा प्रेमको उत्सव जस्तो लागेपनि, वास्तविकता भने व्यापारको बढावा दिनेमै सीमित देखिन्छ । पसलका शेल्फहरूमा राखिएका महँगा उपहारहरूले प्रेमको गहिराइ नाप्न थालेको अनुभूति दिन्छ । “आई लभ यु” भन्दा “आई बाय फोर यु” (तिम्रो लागि किन्छु) नै महत्वपूर्ण भएको जस्तो लाग्छ ।
प्रेम कि व्यापार ?
फूलवालादेखि उपहार पसल, होटल मालिकदेखि रेस्टुरेन्ट व्यवसायी सबैले भ्यालेन्टाइन सप्ताहलाई कमाइको अवसर बनाएका छन् । बजारमा गुलाबको मूल्य आकासिन्छ, चकलेट र उपहारको व्यापार बढ्छ, र हरेक व्यवसायी आफ्नो सामान बेच्ने होडमा लाग्छन् ।
तर, के प्रेम साँचै पनि उपहार आदान–प्रदानमा सीमित छ ?
यदि सच्चा प्रेमलाई बुझ्ने हो भने, महँगो उपहारभन्दा समय, स्नेह र आपसी समझदारी नै महत्वपूर्ण हुन्छ । भ्यालेन्टाइन डेमा मात्र प्रेम देखाएर बाँकी ३६४ दिन बेवास्ता गर्ने सम्बन्धले साँचो प्रेमको प्रतिनिधित्व गर्दैन ।
श्री स्वस्थानी व्रतकथा : प्रेमको आध्यात्मिक मार्ग
भ्यालेन्टाइन सप्ताहकै दौरान श्री स्वस्थानी व्रतकथा सुन्ने परम्परा चलिरहेको छ । यो कथा केवल धार्मिक मान्यता मात्रै नभई त्याग, बलिदान र सहनशीलताको कथा पनि हो । सत्य र धर्मको मार्गमा अडिग रहनेहरूको लागि स्वस्थानी व्रतकथाको पाठ जीवनलाई सकारात्मक रूपमा अघि बढाउने प्रेरणा दिन्छ ।
व्रतकथा सुन्दा मनमा शान्ति मिल्छ, संस्कृतिको जगेर्ना हुन्छ, र परिवारसँगको सम्बन्ध अझ मजबुत बन्छ । भ्यालेन्टाइन सप्ताहमा हजारौं रुपैयाँ खर्च गरेर उपहार किन्नुभन्दा सच्चा प्रेम परिवार, साथीभाइ र समाज प्रति देखाउनु नै वास्तविक प्रेम हुन सक्छ ।
अतत: प्रेमलाई एक हप्ते व्यापारिक महोत्सवमा सीमित गर्नुको सट्टा हृदयदेखि आउने सम्मान, भरोसा र समर्पणलाई वास्तविक प्रेम मान्नु उचित हुनेछ । भ्यालेन्टाइन सप्ताह मनाउने वा नमनाउने व्यक्तिगत रोजाइको विषय हो, तर प्रेमलाई बजारको वस्तु बन्न नदिनु हामी सबैको जिम्मेवारी हो । “आई लभ यु” भन्दा “आई बाय फोर यु” ठूलो नबनोस !




