सर्लाही । हुलाकी राजमार्ग अन्तर्गत सर्लाही सदरमुकाम मलङ्गवाको मुख्य बजार क्षेत्रको सडक निर्माण लामो समयदेखि अलपत्र पर्दा स्थानीयवासी आक्रोशित भएका छन् । पटक-पटक आन्दोलन गरेर दबाब दिएपनि समस्या समाधान नहुँदा उनीहरू असन्तुष्ट भएका हुन् ।
पछिल्लो पटक स्थानीयले चक्काजाम गर्दै टायर बालेर आन्दोलन गरेपछि एक महिनाभित्र सडक कालोपत्रे हुने आश्वासन दिइएको थियो । तर, काम अघि नबढेपछि पुन: असन्तोष बढेको छ । मलङ्गवाको टावर चोक, राजश्री सिनेमा हल चोक र शिक्षा विकास तथा समन्वय एकाइ रहेको क्षेत्रको सडक कालोपत्रे हुन सकेको छैन ।
विवादकै कारण काम ठप्प
स्थानीयका अनुसार सडक भित्र पर्ने जग्गा खाली गर्ने र नाला निर्माणको विषयमा विवाद हुँदा सडक निर्माण अवरुद्ध भएको हो । कहिले काहीँ काम भएपनि गति अत्यन्त सुस्त रहेको गुनासो स्थानीयले गर्दै आएका छन् ।
नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीका अनुसार ठेकेदारले पटक-पटक म्याद थप्दै कामलाई लम्ब्याउने गरेको छ । “ठेकेदारको लापरबाहीका कारण सडक अलपत्र परेको छ । पटक-पटक म्याद थप्ने तर काम नगर्ने प्रवृत्ति दोहोरिएको छ,” चौधरीले भने ।
धुलोका कारण स्थानीय हैरान
सडक कालोपत्रे नहुँदा बजार क्षेत्रमा धुलोको समस्या तीव्र भएको छ । व्यापारी, स्थानीयवासी र यात्रुहरू धुलोको कारण प्रभावित भएका छन् । स्थानीय युवा सोहन झाले भने, “धुलोका कारण घरबाहिर निस्किन नै गाह्रो भएको छ ।” विशेष गरी सडक आसपासका घरधनीहरू र व्यवसायीहरूले लामो समयदेखि असहज परिस्थितिको सामना गर्दै आएका छन् ।
प्रशासनसँग माग
नागरिक समाजका प्रतिनिधिहरू र मानव अधिकारकर्मीहरूले प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलाई भेटी मलङ्गवाको सडक निर्माण कार्य छिटो सम्पन्न गराउन माग गरेका छन् । प्रशासनले पनि हुलाकी सडक आयोजनालाई बारम्बार ताकेता गरिरहेको बताएको छ ।
कालोपत्रे कार्यमा ढिलाइ
हुलाकी राजमार्ग अन्तर्गत सर्लाहीमा मलङ्गवा बजार क्षेत्र र मुसैली गाउँको सडक मात्र कालोपत्रे हुन बाँकी छ । तर, पहिलो चरणमा कालोपत्रे भएका कतिपय स्थानमा सडक बिग्रेर खाल्डा खुल्डी पर्न थालेका छन् । मौसमका कारण कालोपत्रे कार्यमा ढिलाइ भइरहेको भएपनि स्थानीयवासीले शीघ्र समाधानको माग गरिरहेका छन् ।




