धनुषा । मधेश प्रदेशको धनुषास्थित विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार साहले नगरप्रमुख बेचन दासबाट गोली हान्ने धम्की पाएको आरोप लगाएका छन् ।
एक दशकभन्दा बढी राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत रही दुई महिना अघि मात्र विदेह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा नियुक्त भएका साहले मेयरकै छोरा राम भजन दासबाट गाली-गलौज र कुटपिट खेप्नु परेको दाबी गरेका छन् ।
शिक्षा सेवा आयोगबाट सिफारिस भएकी निम्न माध्यमिक विद्यालयकी सामाजिक शिक्षिका पवन कुमारीलाई हाजिर गराएको विषयलाई लिएर मेयरका छोराले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमै कुटपिट गरेको बताइएको छ ।
घटनापछि न्याय खोज्दै प्रहरी र प्रशासनमा पुगेका साहले उल्टै मेयर बेचन दासबाट ‘गोली हान्ने’ धम्की पाएको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालयदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म जानकारी गराएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत साहका अनुसार मेयर विदेशमा रहेको समयमा शिक्षिकालाई हाजिर गराएको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो । सोही विषयलाई लिएर मेयरका छोराले उनलाई धम्की दिएका थिए ।
मेयर दासले प्रहरी जवान विकास बस्नेत, विकास कुमार राय र वडा अध्यक्ष राज किशोर सिंहकै अगाडि आफूलाई गाली गर्ने जोसुकैलाई गोली हान्ने चेतावनी दिएको साहले बताएका छन् ।
साहले आफूलाई कुटपिट गर्ने राम भजन दास र गोली हान्ने धम्की दिने मेयर बेचन दासलाई पक्राउ गरी उचित कारबाही गर्न तथा आफू प्रमुख प्रशासकीय अधिकृतको रूपमा सुरक्षित रूपमा काम गर्न पाउने वातावरण बनाउन प्रहरीमा निवेदन दिएका छन् ।





