काठमाडौं । भारतीय पक्षले तुइनबाट महाकाली नदीमा युवक खसेर बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गरेको छ । शनिबार भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदै महाकालीमा युवक खसेर बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार गरेको पत्राचारका आधारमा पिथौरागढका जिल्ला अधिकारीले आज पठाएको लिखित जवाफमा तुइन तर्न नसकेर युवक आफैं खसेको र बाहिर आए जस्तो एसएसबीको संलग्नता नरहेको उल्लेख गरिएको छ ।
भारतीय पक्षले घटना भएको समयमा एसएसबी मालघाट क्षेत्रमा ड्यूटीमा खटिएको कुरा भने साँचो भएको जिल्ला अधिकारी आनन्दस्वरुपले पठाएका पत्रमा उल्लेख गरिएको जिल्ला प्रशासनले जनाएको छ । पत्रमा भनिएको छ, ‘ड्यूटी गर्ने क्रममा हाम्रो एसएसबीको टोली त्यहाँ गएको हो । तर उहाँहरुको घटनामा कुनै खालको संलग्नता छैन ।’
हिजो बिहान भारतीय भूमिबाट सदरमुकाम खलंगा आउने क्रममा व्याँस गाउँपालिका वडा नम्बर २ स्थित मालघाटमा तुइन तर्ने क्रममा जयसिंह धामी खसेर महाकालीमा बेपत्ता भएका थिए ।






