रुकुम पश्चिम । मध्यपहाडी लोकमार्गअन्तर्गत सानीभेरी गाउँपालिका ८ एकान्तमा विद्युतीय गाडीले अर्को सवारी साधनलाई ठक्कर दिँदा आमाछोरीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार बिहान सिम्लीबाट चौरजहारीतर्फ जाँदै गरेको विद्युतीय सवारीसाधनले मुसिकोट खलंगाबाट सुर्खेततर्फ जाँदै गरेको अर्को गाडीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गाडीमा सवार गुल्मीको रुरु क्षेत्र गाउँपालिका ४ बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवाली गम्भीर घाइते भएका थिए ।
दुर्घटनापछि उद्धार गरी उनीहरूलाई सल्लेस्थित जिल्ला अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झविन्द्र परियारले जानकारी दिए ।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न विद्युतीय गाडी र चालकलाई नियन्त्रणमा लिइएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






