काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरीगंगा नगरपालिका, सुर्खेतका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पौडेलसहितका प्रतिवादीविरुद्ध दायर गरिएको भ्रष्टाचार मुद्दामा भएको फैसलाविरुद्ध सर्वोच्च अदालत मा पुनरावेदन दर्ता गरेको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपाने का अनुसार भेरीगंगा नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा भेरी नदी–गोछेखोला क्षेत्रका नदीजन्य पदार्थ उत्खनन, संकलन तथा बिक्री वितरणसम्बन्धी ठेक्का प्रक्रियामा कानुनविपरीत कार्य गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको थियो ।
उक्त प्रकरणमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम रु. ३६ लाख ७८ हजार ५४३ रुपैयाँ २४ पैसा बिगो कायम गरी कैद, जरिवाना तथा बिगो असुल उपरको मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको थियो ।
तर, विशेष अदालतले २०८१ कात्तिक २५ गतेको फैसलाबाट प्रतिवादीहरूलाई सफाइ दिएको थियो । उक्त फैसला प्रति असहमति जनाउँदै आयोगले २०८३ वैशाख २२ गते सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको जनाएको छ ।






