सर्लाही । सर्लाहीको सागरनाथ वन विकास परियोजनाका विभिन्न क्षेत्रबाट व्यापक रुपमा काठ तस्करी भइरहेको खुलासा भएको छ । सागरनाथ, हातीलेद, लक्ष्मूनीया र मुर्तीया जंगल लगायतका क्षेत्रबाट टिक, साल र खयरजस्ता बहुमूल्य रुखहरू व्यापक रूपमा कटानी भइरहेको छ ।
स्थानीयका अनुसार तस्करहरू दिन, साँझ वा रातको समयमा सवारी साधनमार्फत काठ ओसारपसार गर्ने गरेका छन् । सागरनाथ वन विकास परियोजना २०३५ सालमा नेपाल सरकारले वृक्षारोपण तथा काठ उत्पादन बढाउने उद्देश्यले स्थापना गरेको हो ।
करिब १३,५०० हेक्टर वन क्षेत्र ओगटेको यो परियोजना नेपालकै सबैभन्दा ठूलो वृक्षारोपण र कपिस व्यवस्थापनको नमुना वन क्षेत्र मानिन्छ । साथै, नेपाल सरकारलाई उच्च राजस्व संकलन गर्ने संस्थामध्ये एकका रूपमा परिचित छ ।
तर, पछिल्लो समयमा वन क्षेत्रमा तस्करीको गतिविधि बढ्दै गएको छ । परियोजनाका प्रमुख, अधिकृत, रेन्जर र वन हेरालूहरू मौन बसेको स्थानीयहरूको आरोप छ । अध्यक्ष नियुक्ति नहुँदा परियोजनाका कर्मचारीहरूले आवश्यक कदम नचालेको र वन फँडानी तीव्र भएको स्थानीय संजय यादव बताउँछन् ।
परियोजनामा १७० जना स्थायी, करार, र दैनिक ज्यालादारी कर्मचारी कार्यरत छन् । तर, गस्ती नगर्ने, सवारी साधनको दुरुपयोग हुने र प्रशासनिक लापरवाही बढेको आरोप स्थानीयले लगाएका छन् ।
वन फँडानीकै कारण परियोजनाका कर्मचारीहरूले ११ महिनादेखि तलब नपाएको बताइएको छ । साथै, जागिरबाट अवकाश पाएका २० जना कर्मचारीले उपदान नपाएको र दुई जनाले उपदान कुर्दाकुर्दै ज्यान गुमाइसकेको स्थानीयले बताएका छन् ।
नेपालको वन ऐन, २०७६ अनुसार राष्ट्रिय वन फँड्ने कसुर गर्नेलाई पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ । तर, सरोकारवाला निकायको बेवास्ताका कारण तस्करहरूको मनोबल बढ्दै गएको देखिन्छ ।
सागरनाथ वन विकास परियोजनाका निमित्त प्रमुख खेमलाल बिकका अनुसार काठ तस्करी नियन्त्रण गर्न परियोजनाका कर्मचारीहरू लागिपरेका छन् । तर, स्थानीयहरू भने प्रभावकारी नियन्त्रण नहुँदा वन क्षेत्र विनाशको खतरामा परेको बताउँछन् ।




