सर्लाही । सर्लाही जिल्लाका २० स्थानीय तहमध्ये कार्यसम्पादन मूल्यांकनमा ईश्वरपुर नगरपालिका पहिलो स्थानमा परेको छ । ईश्वरपुर नगरपालिकाले १०० मध्ये ५६.३ अंक प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्न सार्वजनिक गरेको मूल्यांकन अनुसार ईश्वरपुर नगरपालिकाले शीर्ष स्थान हासिल गरेको हो ।
त्यस्तै, पर्सा गाउँपालिकाले ५५.८ अंकसहित दोस्रो स्थान सुरक्षित गरेको छ भने लालबन्दी नगरपालिका ५५.१ अंकसहित तेस्रो भएको छ । रामनगर गाउँपालिका ५२.६ अंकसहित चौथो स्थानमा रहँदा बलरा नगरपालिका ३४.५ अंक प्राप्त गर्दै कार्यसम्पादनमा सबैभन्दा कमजोर देखिएको छ ।
आयोगले १७ वटा सूचकका आधारमा मूल्याङ्कन गरेको थियो । मूल्यांकनका मुख्य मापदण्डहरूमा बजेट पेश तथा पारित गर्ने समयसीमा, खर्च अवस्था, बेरुजु व्यवस्थापन, लेखा परीक्षण प्रतिवेदन, स्थानीय सञ्चित कोषको उपयोग, आवधिक योजना तथा राजस्व विभाजन जस्ता आर्थिक र प्रशासनिक पक्षहरू समेटिएका छन् ।
यो मूल्यांकनले स्थानीय तहहरूको कार्यक्षमताको सही मूल्याङ्कन गर्दै वित्तीय अनुशासन र समुचित व्यवस्थापनको अवस्थालाई उजागर गरेको आयोगले जनाएको छ ।




