सर्लाही । भारतसँग सीमा जोडिएको सर्लाहीको बलरा नगरपालिकाका एक युवकको दाहिने खुट्टा काट्नु पर्ने अवस्था आएको छ । गत बुधबार सीमापारी भारतीय बजारबाट घरायसी प्रयोजनका लागि समान किनेर ल्याउँदै गर्दा बलरा नगरपालिका ३ निवासी १८ वर्षीय युवक गम्भीर घाइते भएका थिए ।
हाल काठमाडौंस्थित बीएण्डबी अस्पतालमा उनको उपचार जारी छ । चिकित्सकहरूले उनको खुट्टामा गम्भीर चोटका कारण रगत जमेको र बचाउन नसकिने भएपछि खुट्टा नै काट्नुपरेको बताएका छन् । घाइते युवकका आफन्तले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कुटपिट गरेको आरोप लगाएका छन् ।
उनीहरुका अनुसार युवक खेतको बाटो हुँदै भारतबाट फर्किंदै गर्दा एसएसबीले खानतलासी लिने बहानामा उनलाई नियन्त्रणमा लिई कुटपिट गरेको थियो । तर, एसएसबीले भने युवक मोटरसाइकल दुर्घटनामा परेर घाइते भएको दाबी गरेको छ । यस विषयमा स्थानीय बासिन्दा र एसएसबीबीच फरक धारणा रहेको देखिएको छ ।
सर्लाही प्रहरीका निमित्त प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईका अनुसार एसएसबीले युवकलाई खानतलासी लिन खोज्दा भाग्न खोज्दा दुर्घटनामा परेको जानकारी दिए ।
यद्यपि, स्थानीय बासिन्दाहरूले एसएसबीको ज्यादतीपूर्ण व्यवहारले घटनामा गम्भीर रूप लिएको बताएका छन् । यस घटना बारे थप अनुसन्धान भइरहेको र भारतीय सुरक्षा अधिकारीहरूसँग छलफल गरिने सर्लाहीका सुरक्षा निकायहरूले बताएका छन् ।




