स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरुको प्रतिनिधित्व गर्ने एक महत्त्वपूर्ण समूह हो । जसले विश्वविद्यालय र क्याम्पसका विद्यार्थीहरूको हक, अधिकार, आवश्यकता, शैक्षिक गुणस्तर, लगायतका विषयमा चासो राख्ने र सम्बनन्धित निकायसम्म त्यस सम्बन्धि आवाज बुलन्द गराउने काम गर्दछ । यसको मुख्य उद्देश्य विद्यार्थीहरूको समग्र विकास र क्याम्पसमा शैक्षिक, प्रशासनीक, सांस्कृतिक र सामाजिक गतिविधिहरूको प्रवर्द्धन गर्नु हो ।
स्ववियु निर्वाचनले विद्यार्थीहरूको नेतृत्व क्षमता विकास गर्न मद्दत पुर्याउँछ । विश्वयविद्यालस्तरमा र सम्बन्धित क्याम्पसहरुमा भएका शैक्षिक गतिविधिहरुमा विद्यार्थीहरुको प्रत्यक्ष संलग्नता साथै विद्यार्थीका हक हित विरुद्ध हुने/भएका कार्यहरुलाई रोक्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
देशकै ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले आगामि चैत्र ५ गते स्ववियु निर्वाचन गर्ने भनि कार्यतालिका समेत प्रकाशन गरिसकेको छ । सबै आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी निर्वाचनको रौनक देख्न सकिन्छ । विश्वविद्यालय र प्राय: सबै क्याम्पसहरुमा ठुला दलका भातृ संगठनहरु रहेका छन् ।
भातृ संगठनको रुपमा रहेका विद्यार्थी संघ/संगठनहरुले विद्यार्थीका हक अधिकार, आवाज भन्दा पनि दल र आफ्नो व्यक्तिगत स्वार्थका लागि मात्रै विद्यार्थी संघ/संगठनहरुका स्थापना गरेको जस्तो देखिएको छ । यसले गर्दा अधिकांश विद्यार्थी संगठनहरुप्रति विद्यार्थीहरु असन्तुष्ट देखिएका छन् । जसको असर गत २०७९ मा सम्पन्न स्ववियु निर्वाचनको मत परिणाम हेर्दा केही क्याम्पस र केन्द्रीय विश्वविद्यालयमा समेत स्वतन्त्र रुपमा निर्वाचनमा भाग लिएका विद्यार्थी समूहहरुले विजय हाँसिल गरेका छन् ।
– स्ववियु निर्वाचनले विद्यार्थीका हक अधिकार र समग्र विश्वविद्यालयको शैक्षिक सुधारमा कार्यहरुका लागि एक नयाँ उत्साह नेतृत्व चयन गर्दछ ।
– स्वतन्त्र विद्यार्थी युनियन निर्वाचले विद्यार्थीमा नेतृत्व क्षमता विकास गर्दछ ।
– स्ववियु निर्वाचनबाट निर्वाचित नेतृत्वप्रति आम विद्यार्थीको अपेक्षा भनेकै शैक्षिक गुणस्तर र विद्यार्थीका हक अधिकारहरुको सुनिश्चितता हो ।
स्ववियु चुनावको महत्व:
– एक स्वतन्त्र समूहको रुपमा रहने : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट निर्वाचित भईसकेपछि जुनसुकै संघ/संगठनबाट प्रतिनिधित्व गरेतापनि विद्यार्थीको नजरमा एक स्वतन्त्र समूहको रुपमा रहने ।
– नेतृत्व विकास : स्ववियु निर्वाचनले विद्यार्थीहरूलाई नेतृत्व क्षमता विका सर नेतृत्वको अवसर प्रदान गर्दछ ।
– शिक्षा र नीति सुधार : स्ववियुले विद्यार्थीहरूको हितका लागि शैक्षिक नीतिहरूमा सुधार ल्याउन दबाब दिन्छ, जस्तै पाठ्यक्रम सुधार, विद्यार्थी सुविधाहरूको सुदृढीकरण र क्याम्पसका अन्य सुविधाहरूमा सुधार ।
– शैक्षिक गुणस्तर र प्रतिभाको उजागर : क्याम्पस तथा विश्वविद्यालयमा विभिन्न रचनात्मक कार्यक्रमहरूको आयोजना गरेर विद्यार्थीहरूको समग्र विकास र प्रतिभाको खोजी गरी उजागर गर्दछ ।
जसरी राष्ट्रिय निर्वाचनबाट नेतृत्व चयन गर्दा समग्र राष्ट्र र जनताको हितमा काम गर्ने प्रतिनिधी चयन गर्ने अपेक्षा सबैको हुन्छ त्यसरी नै स्ववियु निर्वाचनबाट चयन हुने नेतृत्वमा पनि विद्यार्थीहरुका केही अपेक्षाहरु रहेका हुन्छन् । भोलि गएर देशको नेतृत्व लिने भनेकै हाल शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरुले नै हो, त्यसकारण पनि आफुले चयन गरेको नेतृत्वबाट केही अपेक्षा राख्नु स्वभाविक नै हो ।
समग्रमा विद्यार्थीहरुका अपेक्षामा विद्यार्थीहरुको हक अधिकारको सुनिश्चितता, विद्यार्थीका आधारभूत आवश्यकताको परिपूर्ती, शिक्षामा सुधार, शिक्षण संस्थामा हुने राजनीतिक हस्तक्षेपको अन्त्य लगायतका विषयहरु रहेका हुन्छन् । यसलाई बुँदागत रुपमा पनि टिपोट गर्न सकिन्छ ।
विद्यार्थीका अपेक्षाहरू :
– शिक्षा र अध्ययनको सुधार : विद्यार्थीहरू प्रायः शैक्षिक सुविधा र पाठ्यक्रमको सुधारको अपेक्षा गर्छन् । राम्रो प्रध्यापक, नवीनतम शैक्षिक सामग्री र उच्च गुणस्तरीय शिक्षा प्रविधिहरू आजको आवश्यकता नै रहेको छ ।
– सुविधाहरूको प्रबृद्धि : विद्यार्थीहरूको सबैभन्दा ठूलो आवश्यकता क्याम्पसमा आधारभूत सुविधाहरू जस्तै पुस्तकालय, क्यान्टिन, खेलकुदको सुविधाहरू, छात्रवृत्ति र अन्य कल्याणकारी योजनाहरूको उपलब्धता हो ।
– विरोध र समस्याहरूको समाधान : विद्यार्थीहरूले क्याम्पसमा भइरहेको अन्याय, भेदभाव वा व्यवस्थागत समस्याहरूको समाधानको अपेक्षा गर्छन् । विश्वविद्यालय र क्याम्पसस्तरबाट प्रदान हुने छात्रवृत्ति लगालय विभिन्न विद्यार्थी कल्याणकारी विभिन्न सेवा सुविधाहरुको न्यायोचित र प्रभावकारी वितरण हुनुपर्दछ । स्ववियु निर्वाचनमा चयन भएका प्रतिनिधिहरूले यस्ता समस्याहरूलाई सम्बोधन गर्नुपर्ने जिम्मेवारी हुन्छ ।
– सुरक्षित र मित्रवत वातावरण : शैक्षिक संस्थामा विद्यार्थी र शिक्षकलाई सुरक्षित मित्रवत वातावरणको प्रत्याभूति दिलाउनु पर्दछ ।
स्ववियु निर्वाचनले लोकतान्त्रिक प्रक्रियाको अवलम्बन गर्दै विद्यार्थीहरूको शक्ति प्रदर्शन गर्नका लागि महत्वपूर्ण अवसर प्रदान गर्दछ । यसले विद्यार्थीहरूको आवाजलाई उठाउँछ र उनीहरूको हक र अधिकारको रक्षा गर्छ ।




