बारा । बाराको कलैया उपमहानगरपालिका १ मा रहेको नवजन्म पुनः स्थापना केन्द्रमा ३७ वर्षीय प्रदिपप्रसाद मण्डलको कुटपिटबाट मृत्यु भएको १० दिन बितिसक्दा पनि केन्द्रका सञ्चालक अझै पक्राउ परेका छैनन् ।
गत फागुन २ गते राति सुधार केन्द्रमा भएको विवादपछि कलैया ९ रामपुरका मण्डललाई त्यहाँ रहेका कर्मचारी तथा अन्यले मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।
घाइते मण्डललाई उपचारका लागि कलैया सिटी अस्पताल लगिएको थियो । थप उपचारको लागि प्रादेशिक अस्पताल पुर्याइएपनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
घटनामा संलग्न ७ जनालाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो । तर, सुधार केन्द्रका सञ्चालक साहेब मन्सुरसहित अन्य दुई जना अझै कानुनी दायरामा आउन सकेका छैनन् । मण्डललाई गत माघ १५ गते उनका परिवारले सुधार केन्द्रमा भर्ना गराएका थिए ।
सिसिटिभी फुटेजमा सुधार केन्द्रकै व्यक्तिहरूले कुटपिट गरी हत्या गरेको दृश्य कैद भएको पुष्टि भइसकेको छ । घटनापछि मृतकका परिवारले बारा प्रहरीमा ९ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।
तीमध्ये कलैया ३ का १९ वर्षीय सरफराज मन्सुर, २९ वर्षीय तमन्ना अली, वडा नम्बर ४ का २२ वर्षीय निरज सरार्फ, वडा नम्बर ६ का २० वर्षीय महमद आशु मिया शेख, वडा नम्बर १ का २४ वर्षीय अरूण सरार्फ, १९ वर्षीय सागर गुप्ता र वडा नम्बर २ का २१ वर्षीय प्रमेश्वर साहलाई प्रहरीले पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।
तर, केन्द्रका सञ्चालक मन्सुर र अन्य दुई जना अझै फरार छन् । बाराका एसपी सन्तोष तामाङका अनुसार उनीहरूको खोजी कार्य जारी रहेको छ । घटनापछि मृतकका परिवार र स्थानीयले सञ्चालकलाई पक्राउ गर्न माग गर्दै कलैयामा विरोध प्रदर्शन गरेका थिए । साथै, प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै कानुनी कारबाहीको माग गरेका छन् ।




