लामो अपेक्षा पछि एउटा अटव्य गुफाबाट
म निस्किएँ सुकेको माटोमाथि पाइलाहरू टेकेर
दगुर्दै अघि बढ्यो मेरो सीमाहीन यात्राको पथ
हतार हतारमा समयको काँडे तगारो नाघेर
हतारमा फक्रियो मेरो शैशवकालको फूल
किशोरावस्थाका अव्यवस्थित अस्पष्ट कालचक्र
समुद्र जसरी फैलिएको यौवनका उत्ताउला रहर
हतार हतारमा पार भएर आएँ दु:खको लामो नदी
हतारमा शुरू भयो पृथिवीको नयाँ सडक
भय, सङ्कोच, आर्तनाद, दायित्व, निर्वाहको घेरोमा
कसरी अल्झिदै गयो समग्र सरल निर्जनता
हतारले बगाउँदै लग्यो उन्माद फागुनको लहरसित
कसरी भन्नु कि मैले हिँड्न चाहेको होइन यो बाटो
हतारले पुगेँ उकालो तरेपछिको घुमाउरोनेर
जसले मलाई घचेट्दै लग्यो बालुवाको बगरमा
हतारमा उडाइदियो आँखामा टाँसेका रङ्गीन चित्रहरू
अँगालोमा बाँधिएका सम्पूर्ण परिकल्पनाहरू
मरिमरि बोकेको काँधमाथि लक्ष्यसम्म पुर्याउन
सतीका अङ्गहरू जसरी अनायास झर्दै गए चारैतिर
हतारमा बितेर गए जीवनका अनगन्ति शनिबारहरु
अचेल टुक्रिएका समयका छेस्काहरू बटुलेर
अभिशप्त इतिहासको भित्तामा टाँगिएको तस्वीरतिर
हेरिरहेको छु टुलुटुलु आफ्नै निस्तेज आँखाले
हतारमा मेरो अनुहारभरि कोरिए काला धर्साहरू
महाभारतको भूगोलभित्र कक्रिएको द्रौपदीको आर्तनाद
बजारको भयङ्कर भूकम्पले सन्त्रस्त हिमालरूपि
विस्मात र विश्वासको केही हतार छैन मलाई
किनकी अब चाडै नै जन्मिने छन् घाम र जूनहरू ।




