एजेन्सी । अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर भारतीय सिनेमामा कदम राख्दैछन् । ३८ वर्षीय वार्नरले यस बारेमा आफैंले सार्वजनिक जानकारी दिए । उनले तेलुगु फिल्म ‘रोबिन हुड’बाट डेब्यू गर्नेछन् ।
वार्नरले लेखेका छन्, “भारतीय सिनेमा, म आउँदैछु । सुटिङ गर्दा धेरै रमाइलो भयो । रबिन हुडको हिस्सा हुन पाउँदा म धेरै खुसी छु ।”
शनिबार, फिल्मका निर्माताहरूले डेभिड वार्नरको एक पोस्टर सेयर गरेर उनलाई स्वागत गरेका थिए, जसमा लेखिएको थियो, “बाउन्ड्रीदेखि बक्स अफिससम्म, डेभिड वार्नरलाई भारतीय सिनेमामा स्वागत छ ।”
फिल्ममा मुख्य भूमिका निभाइरहेका तेलुगु अभिनेता नितिनले पोस्टमा लेखेका छन्, “ब्याटिङदेखि सुटिङसम्म, क्रिकेट मैदानदेखि फिल्म क्षेत्रसम्म । स्वागत छ भाइ डेभिड वार्नर ।”
यो फिल्म मार्च २८ मा विश्वव्यापी रूपमा रिलिज हुँदैछ । फिल्मलाई भेन्की कुडुमुलाले निर्देशन गरेका हुन् ।






