हामी- लेखक भूमिका गैरे तिमिल्सिना, मेरा श्रीमान् विश्वनाथ तिमिल्सिना र छोरी प्रशंसा तिमिल्सिनाले चन्द्रागिरि जाने निर्णय गर्यौँ । त्यसका लागि २०८० साल कार्तिक १० गते बिहान ४:०० बजे हाइसमा चढ्यौँ । करिब ७:०० बजे मुग्लिन पुगेर खाजा खायौँ र १०:०० बजे थानकोट आइपुग्यौँ ।
थानकोटबाट दक्षिणतर्फ रहेको चन्द्रागिरि पर्वत, समुद्री सतहदेखि २,५०० मिटर उचाइमा अवस्थित छ । यो ठाउँ ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व बोकेको अत्यन्तै रमणीय स्थल रहेछ । चन्द्रागिरि डाँडो काठमाडौं र मकवानपुरको संगम रहेछ । यहाँको मौसम छिनछिनमै परिवर्तन हुने हुँदा सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।
चन्द्रागिरिमा प्रसिद्ध भालेश्वर महादेव मन्दिर अवस्थित रहेछ । मन्दिरबाट पूर्वतर्फ काठमाडौं उपत्यका, पश्चिमतर्फ चित्लाङ उपत्यका, उत्तरतर्फ अन्नपूर्ण, लाङटाङ, गणेश, गौरीशंकर र सगरमाथा लगायतका हिमालहरू र दक्षिणतर्फ दामन तथा महाभारत पर्वत देख्न सकिन्छ । यस मन्दिरलाई इच्छापूर्तिको स्थल मानिन्छ ।
भालेश्वर मन्दिर नजिकै बाल खेल बगैंचा पनि रहेछ । चन्द्रागिरि डाँडा ३६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यहाँ पुग्न केबलकारको सुविधा छ, जसमा ८ जना यात्रु अट्न सक्छन् । केबलकारबाट चन्द्रागिरि पुग्न १४ मिनेट लाग्दो रहेछ ।
नेपाल एकीकरण अभियानको प्रारम्भबिन्दु पनि यहीँ चन्द्रागिरि पर्वत रहेको जनविश्वास पाइयो । पृथ्वीनारायण शाह यहीँ आएर भालेश्वर महादेवसँग राज्य एकीकरणको इच्छा मागेका थिए । उनको सालिक मन्दिरको पूर्वपट्टि अवस्थित छ ।
हामी ३:०० बजे चन्द्रागिरिबाट फर्कियौँ र खाना खायौँ । त्यसपछि ४:०० बजे गाडीमा चढी बेलुका १०:०० बजे सकुशल घर आइपुग्यौँ ।
चन्द्रागिरि डाँडामा पुग्दा मानिसले शान्त, स्वच्छ, प्रदूषणरहित वातावरणको अनुभूति गर्न सक्छ । यस्तो ऐतिहासिक, धार्मिक तथा प्राकृतिक महत्त्व बोकेको ठाउँको संरक्षण र प्रवर्द्धन गर्नु अत्यावश्यक छ । स्वदेशी तथा विदेशी पर्यटक भित्र्याएर आर्थिक आयआर्जनको स्रोत बनाउन सरोकारवालाहरूले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।




