काठमाडौं । खस जातिले प्रयोग गर्ने खस भाषालाई प्राचीन नेपाली भाषामा खस कुरा भनिन्थ्यो । समयको अन्तरालमा यस भाषालाई केन्द्रीय, पश्चिमी र पूर्वीय गरी तीन शाखामा विभाजन गरिएको पाइन्छ ।
इतिहास र उत्पत्ति
ऐतिहासिक प्रमाणहरू अनुसार, पश्चिम नेपालको सपादलक्षयभूमिमा खस राज्यको स्थापना नागराजले गरेका थिए । नागराज एघारौँ शताब्दीमा तिब्बतको याङ्ग्रीबाट कर्णाली हुँदै जुम्लाको सिन्जा उपत्यकामा प्रवेश गरेका थिए । उनले चिसो यामका लागि दैलेखको दुल्लु र सुर्खेतको काँक्रेविहार तथा गर्मी यामका लागि सिन्जालाई राजधानी बनाएर राज्य सञ्चालन गर्थे ।
नागराजपछि चाप, चापिल्ल, कासिचल्ल लगायतका शासकहरूले खस राज्यको विस्तार गरे । छैठौँ नागराज अशोक चल्लको शासनकालमा संवत् १३१२ मा पहिलो पटक नेपाली भाषामा लेखिएको ताम्रपत्र फेला परेको छ, जसलाई नेपाली भाषाको लिखित प्रमाण मानिन्छ ।
खस भाषा र यसको विकास
सैद्धान्तिक रूपमा खस भाषाको उत्पत्ति वि.सं. १०५७ मा मानिए पनि लिखित रूपमा प्रमाणित उद्भव वि.सं. १३१२ को ताम्रपत्रबाट देखिन्छ । विभिन्न कालखण्डमा खस भाषा लिच्छवि, मल्ल, र शाह वंशका शासकहरूको पालामा विकसित हुँदै गयो ।
खस जाति महाभारतकालदेखि नै प्रसिद्ध जाति मानिन्छ । सातौँ-आठौँ शताब्दीबाट पश्चिम नेपालको विस्तृत पहाडी क्षेत्रमा उनीहरूको वर्चस्व थियो । नेपाल, चीन, तिब्बत, भूटान, भारतको उत्तराखण्ड, हिमाचल प्रदेश र जम्मू-कश्मीर क्षेत्रमा खस जातिहरूको बसोबास पाइन्छ ।
केही अनुसन्धानकर्ताहरूका अनुसार ‘कश्मीर’ शब्द ‘खस्मीर’ बाट अपभ्रंश भएको हो, जसको अर्थ खस जातिको भूमि भन्ने हुन्छ ।
खस जातिको मूल उत्पत्ति र सभ्यता
खस जातिको मूल उत्पत्ति पश्चिम एसियाको फारस खाडीमा रहेको मेसोपोटामिया सभ्यता बाट भएको मानिन्छ । करिब ५००० वर्ष पहिले टिग्रिस र युफ्रेटस नदीको किनारमा विकसित यो सभ्यता कृषिमा आधारित थियो । त्यही सभ्यता विस्तार हुँदै पूर्वी सिरिया, इराक, तिब्बत हुँदै कर्णालीको सिन्जा उपत्यकासम्म आइपुगेको मानिन्छ ।
खस जातिहरू प्राचीनकालदेखि नै पशुपालन, कृषि, उद्योग र व्यापारमा संलग्न थिए । उनीहरूले भारत र तिब्बतसँग राम्रो व्यापारिक सम्बन्ध राखेका थिए ।
खस राज्यको उत्थान र पतन
खस राज्यका प्रथम राजा नागराज थिए भने अन्तिम राजा अभय मल्ल थिए । वि.सं. १४४८ मा करिब तीन सय वर्ष लामो खस राज्य पतन भएर बाइसे-चौबिसे राज्यहरूमा विभाजित भयो ।
खस भाषा र यसको स्वरूप
खस भाषा नेपालको कर्णाली क्षेत्रमा रहेको प्राचीन खस राज्यको आधिकारिक भाषा हो । यो भाषा देवना गरी लिपिमा लेखिन्छ । विभिन्न शिलालेख, अभिलेख र कागजपत्रमा यसको प्रमाण भेटिन्छ ।
नेपालमा बोलिने नेपाली भाषाका ११ ओटा प्रमुख स्थानीय भेरियन्टहरू छन्:
डोटेली, बैतडेली, अछामी, दैलेखी, बझाङ्गी, बाजुरेली, दार्चुलेली, डोल्पाली, जुम्ली, डडेल्धुरी, गढवाली ।
खस भाषा आर्य भाषासँग नजिक छ, किनभने दुवै भारोपेली भाषा परिवारका सदस्य हुन् । भारोपेली भाषा परिवार संसारकै सबैभन्दा बढी जनसंख्याले प्रयोग गर्ने भाषा परिवार हो, जसले साहित्य, संस्कृति, ज्ञान-विज्ञान, राजनीति र सरकारी कामकाजमा गहिरो प्रभाव पार्दै आएको छ ।
खस जाति र नेपाल
नेपालको संविधान २०७२ अनुसार, खस आर्य समुदायका प्रमुख जातिहरूमा बाहुन, क्षेत्री, ठकुरी, सन्यासी, कामी, दमाई, सार्की, गन्धर्व र राउटे पर्दछन् । २०७८ सालको जनगणनाअनुसार नेपालमा १४२ जातजाति, १२४ भाषा, र १० धर्म दर्ता भएका छन् ।
विविधतामा एकता रहेको नेपालमा सबै जातजातिलाई समान महत्व दिन आवश्यक छ । भौगोलिक विकटतामा रहेका क्षेत्रहरूको विकासमा विशेष ध्यान दिनुपर्छ । “हिमाल, पहाड, तराई- कोही छैन पराई” भन्ने नाराले सार्थकता पाउने हो भने भाइचारा र अपनत्वको भावना सदैव बलियो रहिरहनेछ ।




