पर्सा । पर्साको वीरगञ्जमा हनुमान जन्मजयन्तीको शोभायात्राका क्रममा उत्पन्न विवादले दुई पक्षबीच झडप भएपछि स्थिति तनावग्रस्त बनेको छ । स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ ।
शुक्रबार साँझ जिल्ला सुरक्षा समितिको आपतकालीन बैठकपछि निर्णय गर्दै प्रशासनले आज साँझ ६:३० बजेदेखि भोलि दिउँसो १२ बजे सम्मका लागि कर्फ्यु लागू गरेको हो । कर्फ्यु आदेश भेडियाही चोक (पूर्व), सिर्सिया पुल (पश्चिम), गण्डक चोक (उत्तर) र शंकराचार्य गेट (दक्षिण) सम्मको क्षेत्रभित्र लागू हुनेछ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार उक्त आदेश जारी गरिएको हो । आदेश अनुसार उक्त सिमानाभित्र कसैलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा कुनै प्रकारका भीड जम्मा गर्न निषेध गरिएको छ ।
शोभायात्रा छपकैयाको इदगाह चोकमा पुगेपछि केही सहभागीहरूको गतिविधिलाई लिएर अर्को समूहले आपत्ति जनाएपछि विवाद उत्पन्न भएको थियो । यसै क्रममा झडप चर्किँदा केही स्थानीयवासी र प्रहरी घाइते भएका छन् । घाइतेहरूको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
स्थानीय प्रशासनले स्थिति थप नबिग्रियोस् भनेर सुरक्षाकर्मीको तैनाथी कडा पारिएको जनाएको छ । झडप बारे थप अनुसन्धान भइरहेको छ ।





