सामन्तवादी सत्ताको जरा हल्लाउँछ कलम
देशको उच्च ओहदामा पुर्याउँछ कलम
नैतिकवान् र बुद्धिजीवी वर्गमा चिनाउँछ कलम
असल नागरिकको परिचय दिलाउँछ कलम ।
मात्र दस रुपैयाँको कलम……………।
विकासको पूर्व योजना तयार गर्छ कलम
देश विकासमा योगदान पुर्याउँछ कलम
समाजमा अगुवाई भूमिका खेल्छ कलम
समानताको वातावरण सिर्जना गर्छ कलम ।
मात्र दस रुपैयाँको कलम…………….।
सिर्जना र कलम हेर दुबै मिलेमा
पुर्याउँछ यसले सहजै गन्तव्यमा
बालकदेखि बृद्धसम्मका हातमा
सुहाउँछ कलम हेर सबका साथमा ।
मात्र दस रुपैयाँको कलम……………।
समतामूलक नारा लगाउँछ कलम
अन्यायको विरुद्ध लड्न सिकाउँछ कलम
पहुँच पुगेँ, नपुगेकाको बिचबाट बोल्दै
विचारलाई साझा गर्न सिकाउँछ कलम ।
मात्र दस रुपैयाँको कलम …………।
घुसखोरी र भष्टाचारको विरुद्धमा बोल्दै
शक्तिशाली, धनाड्यका पोल सबै खोल्दै
बारम्बार प्रश्नहरु लेखिरहन्छ कलम
पिडकलाई मौन बस्न बाध्य पार्छ कलम ।
मात्र दस रुपैयाँको कलम ………….।
कलमको महत्व बुझेँ फाइदा सबलाई हुन्छ
फरक फरक प्रतिभाले सबको मन छुन्छ
उच्च शिक्षा अध्ययनमा साथ दिन्छ कलम
सबै पेशाको सम्मान गर्न सिकाउँछ कलम ।
मात्र दस रुपैयाँको कलम…………..।






