हाम्री आमा अनपढ छिन्
तिनलाई केही आउँदैन
खासै केही गर्न जान्दिनन्
मिलाएर बोल्न पनि आउँदैन
तर इष्टमित्र सबै राखेकी छिन् ।
तिनले गणित पढेकी छैनन्
नियम र सुत्र केही जान्दिनन्
जोड घटाउ आउँदैन तिनलाई
तर औँला भाँचेरै
घर व्यवहार धानेकी छिन् ।
हाम्री आमा अनपढ छिन्
तिनलाई केही आउँदैन
तिनले भाग लगाउन पनि जान्दिनन्
तर सबैलाई ख्वाएर
मलाई खान मन छैन भनि
आँफू भोकै उठ्न जानेकी छिन् ।
हाम्री आमा अनपढ छिन्
तिनलाई केही आउँदैन
तिनले ज्ञान बाड्न खासै जान्दिनन्
घरमा चुलो चौकोमा सिमित छिन्
नियम कानुन केही आउँदैन
तर सन्तानलाई असल संस्कार
दिन जानेकी छिन् ।
हाम्री आमा अनपढ छिन
तिनलाई केही आउँदैन
तिनले ए बि सि डी जान्दिनन्
औषधिका नाम पनि आउँदैन ।
तर छोराछोरी बिमारी भएमा
आँफै डाक्टर बन्न जानेकी छिन
हाम्री आमा अनपढ छिन्
तिनलाई केही आउँदैन
घर बाहिरका कुरा केही थाहा छैन
चासो पनि खासै राख्दिनन्
तर युग बदल्ने पाइला
आफ्नै पेटमा पालेकी छिन् ।
हाम्री आमा अनपढ छिन्
तिनलाई केही आउँदैन
व्यवस्थापन गर्न खासै जान्दिनन्
तर घडीको सुई हेरेर
सबै तालिका मिलाउन जानेकी छिन ।
हाम्री आमा अनपढ छिन
तिनलाई केही आउँदैन
सधैं पुरानो सोच राख्छिन
तर समाज रुपान्तरणका
कैयौं अभियन्ता जन्माएकी छिन
हाम्री आमा अनपढ छिन
तिनलाई केही आउँदैन
सजिएर हिँड्न पनि जान्दिनन् ।
झट्ट हेर्दा राम्री पनि छैनन्
तर स्वर्गकी अप्सराभन्दा पनि
सुन्दर छिन् । हाम्री आमा !






