जब, एउटी आमाले गर्भ धारण गर्दछिन्
बुवाका मस्तिष्क पनि गर्भवती बन्दछ
फरक यति मात्र हो,
आमाले पेटमा बच्चा हुर्काउँछिन्
औ, बाबाले चेतनामा
दश महिना गर्भमा राख्दछिन् आमाले
बालिग नभइञ्जेल नजरको पिठमा बोक्दछन् बाबाले
आमा स्वेटर बुनिरहेकी हुन्छिन्
बुवा भविश्य बुनिरहेका हुन्छन्
सुस्वास्थ्यको कामना गरिरहेकी हुन्छिन् आमा !
बुवाले दिर्घायुको प्रार्थना गरिरहेका हुन्छन्
शिशुको निम्ति !
अनि त जन्म लिन्छ नवजात शिशु निर्धक्कले !
आमाले प्रसव पिडाहरू सहेकी हुन्छिन् भने,
बुवाले सुत्केरी र बच्चा दुवैको वेदना खपेका हुन्छन्
बुवा, जो लागि परेका हुन्छन् घर निर्माणमा
आमा, घर सजाईरहेकी हुन्छिन्
धन आर्जन गरिरहेका हुन्छन् पसिनाहरू चुहाएर बुवाले
धन संग्रह गरिरहेका हुन्छन् पेटमा पोटुकी कसेर आमाले
लिटो ख्वाईरहेकी हुन्छिन् आमाले
ताते हिँड्न सिकाईरहेका हुन्छन् बुवाले
आमा र बाबा
सपनाहरू देखिरहेका हुन्छन् एउटै आँखाले,
कल्पनाहरू रचिरहेका हुन्छन् एउटै विचारले,
प्रेम र स्नेह बाँडीरहेका हुन्छन् एउटै मुटुले,
आमाको दश धारा दुध मात्र पिएर हुर्कन्न !
नवजात शिशु :
बाबाको खुन र पसिना पनि पिएर हुर्कन्छ ।।
बाबालाई थाह छ आमाको ब्यथा
आमालाई थाह हुन्छ बुवाको पीर
तर, सन्तानलाई थाह हुन्न बुवा – आमाको त्याग
फरक यति मात्र हो,
विश्वमै आमा शब्दको जय जयकार हुन्छ,
हुन पनि पर्छ !
तर, बाबा किन अपूज्य ???
आमा शब्द सर्वोच्च हो
बाबुको नाम सर्वश्रेष्ठ होस ।




