“ऐया ! आमा मरे नि ! सहनै नसक्ने गरेर पेट दुख्यो ।” टीका छट्पटाइरहेको थियो । उसको दाजु शिवले सोध्यो, “अचानक के भयो ? अघिसम्म त ठिक थिइस् । के खाएको थिइस् ? नढाटिकन भन् ।”
“केही खाएको छैन । दुखेर मर्न लागेँ ।” ऊ लगातार आमा, आमा ! भनेर कराइरह्यो । शिवले हत्त न पत्त अस्पताल लिएर गए । “लौ न ! डाक्टर साप के भएको हो ?” शिव पनि आत्तियो ।
भिडियो एक्सरे गरेपछि तत्कालै अप्रेसन गरियो । होशमा आएपछि वार्डमा सारियो । बिरामीलाई आराम भयो । हस्याङफस्याङ गरेर उसका श्रीमती, छोरा र आफन्तहरू आइपुगे ।
श्रीमतीले सोधिन्, “एक्कासी के भएको रहेछ ? यस्तो त पहिले कहिले भएको थिएन । मेरो त सात्तोपुत्लो गयो । धन्न, घरमा दाजु हुनुहुन्थ्यो ।”
शिवले भन्यो, “एपेनडिक्स रे ! यो त डरलाग्दो रोग पो रहेछ । म त बाँच्दिन क्या हो ? यत्ति नै रहेछ जीवन भन्ने सोचेको थिएँ । दाइले बेलैमा अस्पताल लानु भयो र मात्र !”
“धत् लाटा ! त्यस्तो कुरा नि गर्ने हो ? कहाँ अहिले मरिन्छ र ? कति दु:ख, सङ्घर्ष गर्न लेखेको छ ? बुहारी आलाप गर्न थालिन्, अनि मैले पनि दौडाएँ नि !” दाइले भने ।
टीकाले हाँस्दै भन्यो, “घरमा सबै भएपनि पीडा हुँदा, नभएता पनि आमालाई मात्र सम्झिदो रहेछ, है ?”




