‘हैन, के गरेर बसेकी ? काम केही सघाउनु छैन ? दिनभरि सुत्यो कि गफ गरेर बस्यो ?’ बुढाले हकारे । त्यस्तो मिलनसार र मायालु बुढा अचानक परिवर्तन भाएको देखेर उनलाई अचम्म लाग्यो ।
सोचिन्, ‘कतै मैले नै केही बिराएकी ? घरको सारा आर्थिक भार छ, काम छैन, आम्दानी छैन, तनावले होला । केही बेरपछि बुढा उरन्ठ्याउलो पारामा देखिए ।
जिस्किँदै भने- ‘हेर बुढी । मैले अमेरिका जाने कागजपत्र तयार गर्दैछु । त्यसमा तेरो पनि दस्तखत चाहिन्छ, गर् है ।
बुढी मक्ख पर्दै भनिन्- ‘जाबो दस्तखत । तपाईंले भनेपछि के गर्दिनँ होला र ?’ बुढाको अनुहार हँसिलो भयो । त्यो देखेर बुढी खुसीले गदगद भइन् । बुढाले सबै कागजपत्र ल्याए । बुढाले जहाँ जहाँ भने त्यहीँ त्यहाँ उनले केही नबोली दस्तखत गरिन् ।
बुढाले भने- ‘म त जाने भएँ, तँ एक्लै पर्ने भइस् ।’ अचम्मित पारामा उनले भनिन्, ‘के को कागतपत्रमा मलाई दस्तखत गराको हो ?’
डिभोर्सको । म अर्कीसँग कोर्टम्यारिज गरेर अमेरिका जादैछु ।






