काठमाडौं । हिजो लियोनल मेसीले औपचारिक रुपमा आफ्नो पुरानो क्लब बार्सिलोना छोडे । स्पेनिस क्लब बार्साले गरेको पत्रकार सम्मेलनमा उनी भावुक बने । क्लब छाड्ने बेलामा उनले आँशु थाम्न सकेनन्, सुँक्क सुँक्क रोए । त्यतिबेला मेसीका नेपाली फ्यानहरु पनि भावुक बने, फ्यान नभएकाहरु पनि भावुक बने ।
कलाकार दीपक राज गिरी पनि भावुक बनेछन् । उनले आफूसहित भावुक बनेका नेपालीलाई सामाजिक सञ्जालमार्फत् व्यंग्य समेत गर्न भ्याए ।
दीपकले लेखेका छन्– ‘कलियुग हो हजुर । यहाँ जे पनि उल्टो उल्टो हुन्छ ! आफन्त मर्दा कन्ट्रोल हुने मन, मेसीले क्लब छोड्दा रून्छ !’
उक्त स्टाटसमा नकारात्मक कमेन्टहरू आएपछि दीपकले कतिलाई भने ब्लक नै गर्नुपर्यो ! उनले आफ्नै स्टाटसमा प्रतिक्रिया जनाउँदै लेखेका छन् – ‘हिजो केहि उदन्ड कमेन्टकर्ताहरूलाई ब्लक गर्नुपर्यो, त्यसको लागि क्षमा चाहन्छु । म पनि मेसी र बार्सिलोनाको पूरानो फ्यान हुँ, मेसीले क्लब छोडेको र उनी रोएको तस्बिर देख्दा मलाई पनि सारै नै नरमाइलो लाग्यो । वास्तवमा हिजोको यो स्ट्याटस म स्वयंलाई पनि व्यंग्य थियो !’
उनले थप लेखेका छन् – ‘तर यस्ता समय सान्दर्भिक, हलुका व्यंग्लाई पनि गलत ढंगले बुझ्ने केहि केटाहरू जसलाई सामाजिक सञ्जालमा कमेन्ट कसरी गर्ने, कसरी आफ्नो असहमति प्रकट भन्ने सामान्य भन्दा सामान्य ज्ञान पनि छैन । त्यस्ता उरन्ठेउला र अशिष्ट यूवा साथीहरूलाई गुमाउँदा मलाई कुनै दुःख लागेन र लाग्ने पनि छैन ! कसैले फरक मत राख्यो कि छाडा, अशिष्ट, अभद्र कमेन्ट गर्ने अनुशासनहिन साथीहरूको लिष्ट लामो हुनुभन्दा वैचारिक मतभेद प्रस्तुत गर्दा शिष्ट, सभ्य र मर्यादित भएर गर्ने थोरै बौद्धिक साथिहरू हुनु राम्रो हो ।’
आइतबार बिदाइ कार्यक्रममा मेसी राेएपछि उनका प्रसंसककाे पनि मन राेएकाे थियाे । मेसीले क्लब छाेड्दै गर्दा भनेका थिए – ‘मैलै यो क्लब छोड्दा मेरो रगत चिसिएको छ । यो मेरो दोस्रो घर थियो । यो क्लबसँग मेरो सम्बन्ध सकियो । नयाँ कहानीको सुरुवात हुन्छ ।’
जुन महिनामा मेसीले क्लबसँग गरेको अन्तिम सम्झौताको म्याद सकिएपछि उनी फ्री एजेन्ट भएका थिए । ६ पटक बालोन डीओर जितेका मेसी नयाँ क्लब खोज्न बाध्य भएका छन् । यस परिस्थितिले आफूलाई स्तब्ध बनाएको मेसीले बताएका छन् ।
कार्यक्रमको दर्शकदीर्घामा उनकी श्रीमती र छोराहरू पनि उपस्थित थिए। मेसी भक्कानिँदा उनीहरू पनि भावुक बनेका थिए ।






