कैलाश पर्वत तथा मानसरोवर ताल ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले नेपालसँग गहिरो सम्बन्ध राख्ने क्षेत्र हुन् । केही ऐतिहासिक दस्तावेज र किंवदन्तीहरूका आधारमा प्राचीन समयमा नेपालका खस राज्यहरू यस क्षेत्रसम्म फैलिएका थिए ।
ऐतिहासिक पृष्ठभूमि:
महाभारतकालीन समयमा नेपालका खस जातिहरू व्यापार र धार्मिक गतिविधिका लागि कैलाश मानसरोवर क्षेत्रसम्म पुग्ने गर्थे । केही पुरातात्त्विक प्रमाणहरूमा उल्लेख छ कि नेपालका राजा र तीर्थयात्रीहरूले यस क्षेत्रलाई आफ्नो धार्मिक तथा सांस्कृतिक केन्द्रको रूपमा लिने गरेका थिए ।
नेपाल–तिब्बतबीचको सम्बन्ध प्राचीन कालदेखि नै धार्मिक, सांस्कृतिक र व्यापारिक दृष्टिले घनिष्ट रहँदै आएको छ । समयक्रममा भारत, नेपाल र चीनबीच सीमांकन परिवर्तन हुँदै जाँदा कैलाश मानसरोवर क्षेत्र आजको चीनको प्रशासनिक नियन्त्रणमा पुगेको मानिन्छ ।
सम्भावित कूटनीतिक पहलहरू:
नेपालले कैलाश मानसरोवर क्षेत्र पुनः प्राप्त गर्न निम्न उपायहरू अवलम्बन गर्न सक्छ;
ऐतिहासिक तथा पुरातात्त्विक प्रमाणहरू अध्ययन र विश्लेषण गरेर नेपालसँग सम्बन्धित तथ्यहरू चीनसामु प्रस्तुत गर्ने । चीनसँग कूटनीतिक वार्ता गरी ऐतिहासिक सम्बन्ध र धार्मिक महत्त्वका आधारमा नेपाली दाबी अघि सार्ने । धार्मिक तथा सांस्कृतिक महत्त्वलाई जोड दिँदै अन्तर्राष्ट्रिय समुदायमा आवाज उठाउने ।
भारतसहित अन्य हिन्दू बहुल राष्ट्रहरूको सहकार्यमा दबाब सिर्जना गर्ने । धार्मिक पर्यटन र व्यापारिक सहकार्यमार्फत चीनसँग सम्बन्ध सुदृढ गर्दै नेपाली तीर्थयात्रीहरूको सहज पहुँच सुनिश्चित गर्ने । आवश्यक परेमा कूटनीतिक रूपमा अन्य भूभागसँग सट्टाभर्नाको विकल्प समेत प्रस्ताव गर्ने ।
नेपालले यदि रणनीतिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले सोचेर पहल गर्छ भने कैलाश मानसरोवरको सम्बन्ध पुनः नेपालको आत्मसम्मान र पहिचानसँग जोडिन सक्छ । तर प्रश्न यहीँ छ- कुन सरकारले गर्ला यस्तो साहसी पहल ?
अस्तु ।






