काठमाडाैं । कलाकार दीपकराज गिरीले विद्युत प्राधिकरणमा कुलमान घिसिङ सकारात्मक भएकाे बताएका छन् । उनकाे कार्यकाल सकिँदै जाँदा थपियाेस् भनेर सरकारसँग माग गरेकाे पनि उनले सम्झिएका छन् । कुलमान आफन्त नभएपनि आफ्ना जस्तै लाग्ने उनको भनाइ छ ।
उनले भनेका छन् – ‘कुलमान न काका बौ का छोरा ! न आमा पट्टीका न मामा पट्टिका भने जस्ता । तैपनि किन किन आफ्नै जस्ता लाग्ने !
उनको कार्यकाल थपियोस भनेर एकताका खूबै कराइयो ! उफ्रियो ! यसकाे मतलब कुलमान बाहेक अरू कसैले प्राधिकरण हाक्न सक्दैन भनेर पनि होइन । आज पनि म कहिलेकाहिँ त्यो कालो अँध्यारो र चिसो रातहरूलाई सम्झन्छु, त्यतिबेला साँझ नै नपरोस् जस्तो लाग्थ्यो !’
कुलमान प्राधिकरणबाट हटेपछि करीब एक दशक निरस र कष्टकर जीवन बिताउन बाध्य भएकाे पनि उनले बताएका छन् ।
‘आज ति दिनहरू इतिहास भएका छन्, यिनै कुलमान को आगमनपछि हामी भावनात्मक छौँ । दिमागले मात्रै होइन मनले पनि सोच्ने गर्छौँ । त्यसैले त राज्यले उनको कार्यकाल थपेर एक पटक पुरस्कृत गरोस् भन्ने लागेको हो, तर त्यो त्यतिबेला सम्भव भएन । तर आज ढिलै भएपनि उनको पुन: आगमनले म जस्ता धेरै नेपालीलाई खुशी लागेको हुनुपर्छ !’
कुलमान नियुक्तियले राम्रो काम गर्दा ढिलै भए पनि पुरस्कार पाइन्छ भन्ने राम्रो सन्देश गएको उनकाे तर्क छ । स्वतन्त्र नागरिकको हैसियतले सरकारको नराम्रो कामको आलोचना गरिन्छ, भने राम्रो कामको तारिफ गरिने उनले बताए । उनले भने, ‘यो नियुक्तिको निर्णय विल्कुल जनप्रिय निर्णय हो । सरकार लाइ धेरै धेरै धन्यवाद ! कुलमानजीलाई बधाई !’






