काठमाडौं । कोभिड १९ विरुद्धको खोप लगाउने या नलगाउने भन्ने विषयमा अझैपनि धेरै मानिसहरु अन्यौलमा छन् । पत्रपत्रिकामा खोपले कतिलाई असर गरेको भन्ने समाचारहरु आउनाले कति डराएका पनि छन् । खोप लगाएपनि कोभिड देखिन सक्ने भनेपछि त नलगाएपनि हुने रहेछ भन्ने भ्रम पनि छ कसैलाई ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे प्रष्ट पार्दै पहिलो मात्रा लगाएको केही समयपछि कोभिड संक्रमण देखिए पनि पहिलो मात्रा दोहोर्याएर लगाउनु नपर्ने बताएको छ । मन्त्रालय दिएकाे जानकारी अनुसार यदि खाेपकाे पहिलाे मात्रा लगाइएकाे छ र त्यसकाे केही समयपछि काेभिड पाेजेटिभ देखियाे भने संक्रमणमुक्त भएकाे कम्तीमा ३० दिनपछि दाेस्राे मात्रा लगाए पुग्छ ।
‘खोप लगाएको दुई हप्तापछि मात्रै खोपले सुरक्षा प्रदान गर्दछ । पूर्ण रुपले सुरक्षित हुन खोपको पुरै मात्रा लिनुपर्छ । पहिलो मात्रा लगाएको छोटो समयमा संक्रमित भएमा पहिलो मात्रा दोहोर्याएर लगाउनु पर्दैन । संक्रमणमुक्त भएको कम्तीमा ३० दिनपछि दोस्रो मात्रा लगाउनुपर्दछ’, मन्त्रालयकाे भनाइ छ ।
यस्तै संक्रमित अवस्थामा खोप लगाउन जाँदा खोप केन्द्रमा भएका अरुलाई पनि संक्रमण सर्न सक्ने सम्भावना रहने भन्दै मन्त्रालयले कोरोना संक्रमित भएको अवस्थामा भने खोप नलगाउन पनि सुझाएको छ ।







