गलत पढाइएछ हामीलाई पहिला
भ’बाट भकुण्डो भन्न सिकाउनुभयो
कण्ठस्त गर्न लाउनु भयो
तर अहिले भकुण्डो खेलिन्न
भ्रष्टाचार खेलिन्छ
भ्रष्टाचार गरिन्छ
भ’बाट भकुण्डो नभएर
भ’बाट भ्रष्टाचार सिकाउनु पर्थ्यो
अब बाह्रखरी नै पूनरलेखन
गर्नुपर्यो सरकार
भ’बाट भ्रष्टाचार ।
भ’बाट भ्रष्टाचार सिकाएको भए
हामीलाई असहज हुने थिएन होला
सायद हिजोआज
भ्रष्टाचारकै मौसम छ
भ्रष्टाचारहरूको रजगज छ
पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिर भ्रष्टाचार
सरकारले विकास गर्न दिएको रकम
गाउँमा भ्रष्टाचार
हजुरबालाई दिएको पेन्सन
नातिले भ्रष्टाचार
विकासको रकम स्वाहा पारे
अरुले होइन आफन्तले नै
भ’बाट भ्रष्टाचार ।
आफन्तले आफन्तलाई नै चुसेको छ
भ्रष्टाचारले केही युवकहरूलाई मुछेको छ
ह्वाटअपको माध्यमबाट भ्रष्टाचार
मोबाइलबाट भ्रष्टाचार
एसएमएसबाट भ्रष्टाचार
अनलाइनबाट भ्रष्टाचार
भ’बाट भ्रष्टाचार ।
कसै कसैले त सम्बन्ध नै बिर्सिए
मान्यजन र गुरु बिर्सिए
डिग्री लिएकाहरूले
भ्रष्टाचार नदेख्ने भए
सरकारी पेन्सन खानेहरूले पनि
देखेनन् भ्रष्टाचार
उनीहरूको भित्री मन
भित्र भित्र मात्रै बोलेको छ
“हाम्रो गाउँमा भ्रष्टाचार नै हुँदैन” भन्ने ढोल ठोक्छन्
हाम्रो भित्री मन पोलेको छ, हृदय जलेको छ!
राज्यको सबै बजेट आँफै ह्वाम पारे विकास शुन्य
भ’माने भकुण्डो हैन अब
भ’बाट भ्रष्टाचार ।
वडा अध्यक्ष भ्रष्टाचारमा
गाउँपालिका अध्यक्ष उपाध्यक्ष भ्रष्टाचारमा
नगरपालिकाका प्रमुख उपप्रमुख भ्रष्टाचारमा
प्रदेश प्रमुखसहित
पूरै मन्त्रिपरिषद नै भ्रष्टाचारमा व्यस्त
कर्मचारीलाई फुर्सद छैन कमिसनको हिसाब
मिलेको छैन
भ्रष्टाचार त गर्दै गर्दैनन
संघिय मन्त्रिपरिषद
एक एक गरि भ्रष्टाचारमा
अझै सम्मानिय प्रधानमन्त्री
भ्रष्टाचारीलाई हर्दै हेर्दिन रे
किनकि भ माने भ्रष्टाचार ।
नानीहरूले हिजोआज
भकुण्डो देख्दैनन
भ्रष्टाचार मात्र चौतर्फी देख्छन्
कोहि बोल्दैनन्
अङ्ग्रेजी भाषाको बोलवाला छ
भ्रष्टाचारको मदानीले मोही पार्छन्
आवाज ठूलो सुनिन्छ प्रगतिको
तर घिउ भ्रष्टाचारको
रुखो भएको छ गोठ र गाउँ हिजोआज
भ’बाट भ्रष्टाचार ।
हे! गुरुवर्ग
भ’बाट भकुण्डो होइन
भ्रष्टाचार सिकाउने दिन आएको छ
भ्रष्टाचारका प्रकारहरू
जस्तो कि नितिगत भ्रष्टाचार
अडडा अदालतमा हुने भ्रष्टाचार
कि अन्य किसिमको हो
अब भ्रष्टाचार सिकाउने दिन आएको छ
अब पूरानो बाह्रखरी
पून: लेखन गर्नुपर्ने भएको छ
भ’बाट भ्रष्टाचार ।






