काठमाडौं । लोकप्रिय चलचित्र छक्का पन्जा टिम हाल अमेरिका टुरमा छ । टुरमा अभिनेता दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, शिवहरी पौडेल, मिना निरौला, आसिफ शाह लगायतका कलाकार सहभागी छन् ।
टिम केही दिनअघि टेक्सासको राजधानी अस्टिन पुगेको थियो र त्यहाँ आयोजित कार्यक्रममा सबै कलाकारले प्रस्तुति दिएका थिए । विशेष गरी दीपक–दीपाले ‘सिरपाते जुंगामा’ गीतमा युगल नृत्य प्रस्तुत गरे । तर कार्यक्रममा दर्शक संख्याले कलाकारको संख्या बराबरको रहेर कार्यक्रमलाई अनौठो मोड दिएको थियो ।
कार्यक्रम संचालक आसिफ शाहले सार्वजनिक भिडियोमा यस विषयमा रमाइलो शैलीमा प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, “जिन्दगीमा पहिलो पटक कोट लगाएर आउँदा अलिकति असहज महसुस भयो । यहाँ धर्मेन्द सेवान पनि हुनुहुन्छ, उहाँ हाफ पाइन्टमा आउनुभएको छ । सायद दर्शकको संख्या थाहा पाएर होला ।”
आसिफले थपे, “यसरी कार्यक्रम गर्दा पनि खुसी लाग्छ । किनभने जति जना दर्शक हुनुहुन्छ, हाम्रो कलाकार टिम पनि त्यति नै हुनुहुन्छ । कबड्डी खेल्न मिल्ने जस्तो भयो । भर्खरै मेरो फिल्म ‘जन्ते बाख्रो’ रिलिज हुँदा पनि हलमा यति नै दर्शक थिए ।”
विदेशमा कार्यक्रम गर्दा कम दर्शक हुनु नयाँ कुरा होइन । धेरै प्रवासी नेपालीहरूले समय व्यवस्थापन गर्न नसक्ने हुँदा यस्तो अवस्था देखिन्छ । तर, अहिले हरेकको मोबाइलमा भिडियो रेकर्ड हुने भएकाले कार्यक्रमको रमाइलो पल सार्वजनिक हुनबाट कसैले रोक्न सक्दैन ।
छक्का पन्जा टिमको यो अमेरिका टुरले कलाकार–दर्शक बीचको नजिकको सम्बन्ध देखाएको छ, जहाँ हल सानो भए तापनि प्रस्तुति र मनोरञ्जनको उत्साह उच्च रह्यो ।






