एजेन्सी । अभिनयमार्फत् बलिउडमा आफ्नो छुट्टै छाप छोडेकी अभिनेत्री मनीषा कोइराला अहिले नेपालमा छिन् । कालापानी, लिपुलेक लगायतका विषयमा नेपालको पक्ष लिएर बोलेपछि भारतीयहरुले उनीमाथि नकारात्मक टिप्पणी गर्न थालेका थिए, त्यसै समय उनी नेपाल भित्रिएकी थिइन् । अब नेपालमै बसेर केही गर्ने उनले बताउँदै आएकी छिन् ।
नेपाल फर्किए पनि बलिउडमा चर्चा अझैपनि उतिकै हुने गरेको छ । सेलिब्रेटी दुनियाँमा हरेक कुरा क्षणिक हुन्छन्, मित्रता र शत्रुता पनि । यस्तै मनीषा कोइराला र ऐश्वर्या राय बच्चनबीच पनि झगडा भएको थियो । सन् १९९४ तिर मोडल राजीव मुलचन्दनीले मनीषाका लागि ऐश्वर्यालाई धोका दिएको हल्ला चलेको थियो । बलिउडमा सनसनी मच्चाएकाे यो झगडाले यी दुई अभिनेत्रीबीचको सम्बन्ध चिसिएको थियो ।
हल्ला चलेको पाँच वर्षपछि ऐश्वर्याले यसबारे बोलेकी थिइन्, जसमा उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘सन् १९९४ को सुरुतिर एउटा परिचित म्यागजिनले मनीषाका लागि राजीवले मलाई धोका दिएको भनेर लेखेको थियो । राजीव केवल मेरो मिल्ने साथी थिए र त्यो समाचार मलाई चित्त बुझेको थिएन । त्यसैले मैले त्यतिबेलै राजीवलाई फोन गरेर मनीषा र उसको प्रेम सम्बन्धमा मलाई नतान्न भनेकी थिएँ । तर त्यसको दुई महिनापछि मनीषा फेरि अर्कै केटालाई डेट गर्न थालिन् । उनी हरेक दुई महिनामा नयाँ केटासँग हुन्छिन् ।’
ऐश्वर्याका अनुसार साे पत्रिकामा मनीषाले राजीवले उनलाई प्रेम पत्र पठाएको दाबी गरेकी थिइन् । ‘पत्रिकामा मनीषाले राजीवले मलाई प्रेम पत्र पठाएको दाबी गरेकी रहेछिन्, जुन सरासर झुटो थियो,’ उनले भनिन्, ‘मनीषाको त्यस्तो व्यवहारले मलाई निकै नराम्रो लागेको थियो । यदि मेरै कारणले राजीवसँग उनको सम्बन्ध बिग्रिएको थियो भने उनले किन त्यतिबेलै नबोलेर अहिले यस्तो कुरा गरिरहेकी छिन् ।’
उनले मनीषाकाे कुराले आफू निकै रोएको पनि खुलाएकी छिन् – ‘मनीषाको कुराले मेरो मन दुखेको थियो । म पागल जसरी रुन्थें ।’






