एजेन्सी । राम्रो या नराम्रो गतिविधि जसो गरेपनि, सधैँजसाे विभिन्न कारणले चर्चामा छाइरहन्छन् सेलिब्रेटी । जीवनशैली, खानपानदेखि उनीहरुको बिवाह पनि तामझामपूर्ण र निकै महंगो हुन्छ । तर बिवाहमा लाखौँ, करोडौँ खर्चिएपनि उनीहरुको सम्बन्ध भने लामो समय टिकेको पाइँदैन ।
उनीहरूको प्रेम, विछोड, विवाह र सम्बन्धविच्छेद पनि चर्चाकै विषय बन्छ । केही सेलेब्रिटीका विवाहभन्दा सम्बन्धविच्छेद झन् बढी चर्चामा रहे । चर्चाकाे कारण थियाे, विवाहभन्दा सम्बन्धविच्छेदमा उनीहरूको खर्च बढी हुनु । यस्तै चर्चामा रहेकामध्ये एक हुन् ऋतिक राेशन ।
ऋतिक व्यवसायी पनि हुन् । प्रोडक्सन हाउस र रेडिमेड गार्मेन्ट ब्रान्ड एचआरएक्सका मालिक हुन्, उनी । विवाहमा धेरै खर्च गरेका उनले सम्बन्ध विच्छेदमा पनि उतिकै खर्च गरे । ऋतिकले सन् २००० मा इन्टेरियर डिजाइनर सुजैन खानसँग विवाह गरेका थिए । १४ वर्षपछि २०१४ मा उनको सुजैनसँग सम्बन्धविच्छेद हुँदा विवाहको भन्दा निकै बढी खर्च भयो । सुजैनले उनीसँग सम्बन्ध टुंग्याएबापत ४ सय करोड भारतीय रुपैयाँ मागेकी थिइन् । तर, उनले तीन सय ८० करोड रुपैयाँ दिएका थिए ।
यस्तै अभिनेता संजय दत्तले पनि सम्बन्धविच्छेदका क्रममा धेरै खर्च गरे । मान्यतासँग विवाह हुनपुर्व संजय दत्तको रियासँग सम्बन्ध रहेको थियो । विवाह नगरेपनि संजय दत्तले उनीलाई ८ करोड रुपैयाँ र एउटा कार दिएर सम्बन्ध टुटाएका थिए ।
अरबाज खान र मलाइका अरोराले पनि विवाहकाे १९ वर्षपछि सम्बन्ध बिच्छेद गरे । अरबाज र मलायका विचको सम्बन्ध विच्छेदको चर्चा धेरै महिनासम्म चल्यो । १९९८ मा विवाह बन्धनमा बाँधिएको उनीहरुको सम्बन्ध २०१६ मार्च मै बिछाेडिए । उनले १५ कराेड लिएकी थिइन् ।
यस्तै अटो पाट्र्स निर्माण गर्ने कम्पनी सोना कोयोका अध्यक्ष सञ्जय कपुरको बलिउड अभिनेत्री करिश्मा कपुरसँग दोस्रो विवाह थियो । तर, विवाहबन्धनमा बाँधिएको केही समयलगत्तै सम्बन्धमा दरार आएका खबर बाहिरिन थाले । अभिषेक बच्चनसँग इन्गेजमेन्ट गरिसकेकी करिश्माले उनलाई छाडेर ६ महिनापछि सञ्जयसँग विवाह गरेकी थिइन् । सन् २००३ मा करिश्मा र सञ्जयको विवाह भएको थियो ।
तर, विवाहको १३ वर्षपछि सन् २०१६ मा उनीहरूको सम्बन्धविच्छेद भयो । यो कदम सञ्जयका लागि आर्थिक रूपमा भारी भयो । सम्बन्धविच्छेदका लागि सञ्जयले ७ करोड रुपैयाँ दिएका थिए ।






