बिहानको पहिलो किरण झ्यालबाट पस्दै थियो । हल्का सुनौलो प्रकाश कोठाको कुनामा चिप्लिँदै भित्तामा हल्का रेखा बनाइरहेको थियो । हावा चिसो तर कोमल थियो, जस्तै प्रकृतिले मलाई अभिवादन गरिरहेको छ ।
म कुर्सीमा बसेँ, हातमा केही थिएन, तर मन भारी थियो । म धेरै बोल्ने मान्छे होइन । मेरो मौनतालाई कतिपयले कमजोरी ठान्छन्, कतिपयले घमण्ड । तर मेरो लागि मौनता कमजोरी होइन : यो मेरो सोच, अनुभव र भित्री शक्ति हो ।
आज एक साथीको शब्द सम्झीएर मनमा हल्का पीडा भयो । उसले भनेको थियो- “म तिमीबाट इरिटेट भएको छु ।” त्यो शब्द अझै मेरो कानमा घुमिरहेको थियो । आज फेरि सुनें, “तिमी झुटो छौं ।” यस्तो सुनिरहँदा मनमा झस्को आयो । तर मैले बुझें- यो मेरो मौनताको दोष होइन । यो केवल मेरो सीमा र संवेदनशीलताको परिणाम हो । मेरो भावनालाई बुझ्न समय चाहिन्छ ।
म उठें, झ्यालतिर गए । हावा मेरो अनुहारमा ठोक्किँयो, लाग्यो मलाई शान्त पार्दै थियो । बाहिरको संसार दौडिरहेको थियो तर म त्यहाँ थिए, एक्लै, केवल आफ्नो मनसँग ।
सम्झिए, मैले जीवनभर धेरै प्रयास गरे । अरूको अपेक्षामा आफूलाई ढाल्ने, अरूलाई खुशी राख्ने । तर सबैको खुशी प्राप्त गर्न नसकिने रहेछ । कहिले काहीँ लाग्थ्यो- शायद यो मेरो कमजोरी हो । तर फेरि मैले महसुस गरे, सत्य केवल अरूको स्वीकृतिमा होइन, आफ्नो अनुभव र संवेदनामा हुन्छ ।
म कहिले काहीँ असत्यको सहारा पनि लिन्छु । तर यो झुट होइन, संवेदनशीलता हो । म चाहन्छु कसैको मन नदुखोस्, अनुहारमा मुस्कान रहिरहोस् । सरलता, मौनता, संवेदनशीलता यी धेरैले बुझ्दैनन् । तर यही मेरो शक्ति हो ।
बिहानको प्रकाश बढ्दै गयो, र कोठामा हल्का सुनौलो चमक फैलियो । मेरो अनुहारमा छायाँ र उज्यालो खेलिरहेको थियो । मैले आफ्नो मनसँग कुरा गरे – “म मौन भएपनि शक्तिशाली छु । म संवेदनशील भएपनि अडिग छु । मैले देखाउन नचाहेको भएपनि महसुस गर्न जान्दछु ।”
म बाहिरको संसारमा निस्कें । हावामा नयाँ गन्ध थियो । सूर्यको किरणले मेरो छालामा छोयो, जस्तो जीवनले मलाई पुन: स्वागत गरिरहेको थियो । मैले महसुस गरे – मेरो मौनता मेरो कमजोरी होइन । यो मेरो अस्तित्वको गहिरो हिस्सा हो । यो मलाई आत्मविश्वासी बनाउँछ, मानसिक शान्ति दिन्छ र जीवनको अर्थ बुझाउँछ ।
साँझको रमाइलो र बिहानको शान्ति बीचको भिन्नता मलाई याद आयो । आज मैले बुझें, सत्य र संवेदनशीलता बलवान हुन्छन् । मौनता मात्र सुनिने होइन, महसुस हुने शक्ति हो । यही मेरो सत्य हो, यही मेरो अस्तित्वको गहिरो शक्ति हो ।






