काठमाडौं । भारतको हिमाचल प्रदेशस्थित सोलन जिल्लाको अर्की बजारमा आगलागीसँगै सिलिन्डर विस्फोट हुँदा नौ नेपालीको मृत्यु भएको छ । सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुरा घर भएका धनबहादुर विक र काशीराम विकका परिवारको आइतबार मध्यराति ज्यान गएको हो ।
मध्यरातमा आगो लागेपछि ज्यान जोगाउन कोठाभित्र हारगुहार गरिरहँदा सिलिन्डर विस्फोट भएर उनीहरूको मृत्यु भएको नेपाली समाज भारतका महासचिव आरबी खड्काले जानकारी दिए । उनका अनुसार स्थानीय राजीव गुप्ताको घरको माथिल्लो तलामा विक परिवार सुतेका थिए भने भुइँतलाको पसलमा ग्यास सिलिन्डरलगायतका सामान थिए । पसलमा आगलागी भएपछि सिलिन्डर विस्फोट भएको थियो ।
दुर्घटनामा परी ३३ वर्षीय धनबहादुर विक, श्रीमती कविता, छोरीहरू राधा र रेनुका तथा २२ महिने छोरा राजनको मृत्यु भएको छ । ४७ वर्षीय काशीराम विक, श्रीमती टीका, छोरी अनु र छोरा किरणले पनि ज्यान गुमाएका छन् । विस्फोटमा परेका कारण उनीहरूको शव चिन्न मुस्किल पर्ने अवस्थामा रहेको घटनाका प्रत्यक्षदर्शी प्रेम विकले जानकारी दिए ।
मृतक काशीरामका भाइ मनबहादुर पनि आगलागी हुँदा नजिकैको अर्को घरमा थिए । पसलमा आगो सल्किरहेका बेला भित्रबाट दाजु लगायतले चिच्याइरहेको उनले सुनेका थिए । ‘आगो निभाउन पानी लिएर जाँदै गर्दा सिलिन्डर पड्किएको आवाज आयो, चिच्याइरहेका दाजु र परिवारको आवाज बन्द भयो,’ उनले भने । १०/१२ वटा सिलिन्डर विस्फोटको आवाज सुनेको मनबहादुरको भनाइ छ ।
उनका अनुसार आगलागी भएको घरमा पछाडिपट्टिको कोठामा सुतेका अरूले भने हामफालेर ज्यान जोगाएका थिए । मनबहादुरका अनुसार आगो ठूलो भएकाले स्थानीयले निभाउन सक्ने अवस्था थिएन । बिहान ६ बजेतिर मात्र दमकलसहित आएको सुरक्षाकर्मीको टोलीले आगो निभाएको थियो । त्यसपछि घटनास्थलमा शव डढेको र टुक्राटुक्रा थियो ।
धनबहादुर, काशीराम र मनबहादुर परिवारसहित पछिल्लो पटक साढे दुई वर्षअघि हिमाचल पुगेका थिए । त्यहाँ उनीहरू ज्याला मजदुरी गर्थे । आइतबार उनीहरूले अर्की बजारदेखि सय मिटरको दूरीमा काम गरेका थिए ।






