काठमाडौं । म्युजिक भिडिओ र फिल्ममार्फत लाखौँ दर्शकको मन जितेकी मोडल तथा अभिनेत्री गरिमा शर्माले अन्तत: आफ्नो प्रेम जीवन सार्वजनिक गरेकी छन् । आइतबार राति प्रेमीसँगका दुई तस्बिर सार्वजनिक गर्दै गरिमाले वर्षौँदेखि लुकाएर राखिएको ‘हाइस्कुल लभ’ बाहिर ल्याएकी हुन् ।
गरिमाले भावुक शब्दमा लेखेकी छन्, ‘त्यति बेला हामी केवल बाल्यकालमै थियौं । अहिले भने सँगै केही वास्तविक र अर्थपूर्ण सम्बन्ध निर्माण गरिरहेका छौं ।’ ह्यासट्याग #HighSchoolLove प्रयोग गरेकी उनले प्रेमीलाई मेन्सन गरेकी छैनन्, न त नाम नै खुलाएकी छन् ।
यसअघि नै गरिमाले ‘रिलेसनसिप स्टाटस’ को संकेत दिइसकेकी थिइन् । गत साता उनले पोस्ट गरेको तस्बिरमा युवकको हातमा ‘Garima’ लेखिएको ट्याटु र ‘Promise Ring’ देखिएको थियो । त्यतिबेला क्याप्सन थियो ‘उसले प्रस्ताव राख्यो र मैले हुन्छ भनेँ ।’
एक सातापछि भने गरिमाले प्रेमीसँग खुलेर तस्बिर सार्वजनिक गरेपछि फ्यानहरू खुसी छन् । कमेन्ट बक्स बधाई, शुभकामना र ‘क्युट कपल’ प्रतिक्रियाले भरिएको छ ।
‘लण्डन टु पेरिस’ बाट फिल्ममा डेब्यु गरेकी गरिमा शर्मा ‘ह्रस्व दीर्घ’, ‘जन्ते बाख्रो’ जस्ता फिल्ममार्फत दर्शकमाझ परिचित नाम हुन् ।






