काठमाडौं । लोकप्रिय गायिका विष्णु माझीसँग दर्जन बढी गीत गाएका गायक खुमन अधिकारीले उनको बारेमा मुख खोलेका छन् । ‘गुमनाम’ रहेको चर्चा चलिरहेका बेला गायक अधिकारीले उनको बारेमा आफूलाई थाहा भएका कुरा एक अन्तर्वार्ताका क्रममा खोलेका हुन् ।
खुमन भन्छन् – ‘सायद विष्णु माझीले मसँग जति अरुसँग गीत गाउनु भएको छैन होला । उहाँ रेकर्डिङ्गमा आउनुहुन्छ, गीत गाउनुहुन्छ अनि जानुहुन्छ । देख्न त नपाउने कुरा होइन । सबैको आफ्नो, आफ्नो इच्छा हुन्छ । बाहिर देखिने या नदेखिने त्यो उसको अधिकारको कुरा हुन्छ । उहाँले गर्नुभएको कामहरु सबै सफल भइरहेको छ ।’
यस्तै उनले स्टुडियाेमा पर्दा लगाएर गाउँदा सहज हुने भएका कारण लगाएकाे हुन सक्ने बताए । उनले भने, ‘स्टुडियोमा पर्दा लगाएर गाउँदा उहाँलाई सहज हुने भएर होला त्यसो गर्नुभएको । भेट्दा सन्चो बिसन्चो लगायतका कुराहरु आदानप्रदान हुन्छ । गीत गाउनेबेला नबुझेको कुरा सोध्नुहुन्छ । कुराकानी हुन्छ मज्जाले । बाहिर आएजस्तो हिंसा र गुमनाम हुन बाध्य बनाइएको जस्तो मलाई लाग्दैन ।’
गायिका देवी घर्तीले पनि करिब १५ वर्षदेखि विष्णुसँग भेट नभएको बताइन् । उनले भनिन्– ‘भेट हुँदा कुरा हुन्छ, फोन सम्पर्क हुँदैन । लुकाएको हो वा लुकेको, त्यो त हामीलाई थाहा छैन । थाहा नभएको विषयमा बोल्न मिल्दैन ।’






