काठमाडौं । शनिबार पूर्व युवराज पारस शाहको हुबहु क्यारिकेचर गरेर कमेडी च्याम्पियन सिजन–२ का प्रतिस्पर्धी ताप्लेजुङका भरतमणि पौडेलले वाहवाही । नेतादेखि जनतासम्मले उनको कलाको प्रसंसा गरे ।
उनकाे प्रस्तुती पनि उत्कृष्ट नै थियाे । हिजाेकाे प्रस्तुतीमा उनकाे गेटअप पूर्व युवराज शाहसँग हुबहु मिल्दो देखिन्थ्याे । शाहकै हाउभाउमा उनले प्रस्तुति समेत दिएका थिए । प्रस्तुतिमा राजाको शासन समयमा कलाकार दरबार छिर्ने प्रसंगदेखि केही अगाडि पूर्व युवराज शाहको हेल्मेट काण्डबारे समेत उनले रमाइलाे तरिकाले व्यंग्य गरे । उनकाे यो लुक्सले पनि चारैतिर चर्चा पाइरहेको छ ।
नेकपाका नेता एवम् गृह जिल्ला ताप्लेजुङका सांसद् तथा पूर्व मन्त्री योगेश भट्टराईले त भरतमणिले राम्रो अवसर पाए र आफैँले अझ मेहनत गरे भने उनको प्रतिभाले देशको सीमालाई छिचोल्ने भन्दै शुभकामना समेत दिए । जजले पनि पाैडेलकाे जमेर तारिफ गरे, उनी खुशी देखिन्थे ।
यता कमेडी च्याम्पियनकै अर्का प्रतिस्पर्धी विक्की अग्रवाल भने आफ्नो प्रस्तुती पछि भावुक हुँदै रोए । हिजोको एपिसोडमा कमेडियन विक्कीले प्यान्टोमाइम गरेका थिए । तर उनकाे प्रस्तुतीबाट कुनै पनि जज सन्तुष्ट हुन सकेनन् । यद्यपी टप थ्रीका लागि प्रतिस्पर्धा भइरहेका बेला प्यान्टोमाइम गरेर जाेखिम माेलेकाे र प्रस्तुती पनि उत्कृष्ट रहेकाे भन्दै प्रसंसा भने जजले गरेका थिए । तर यतिबेला जाेखिम लिन नहुने जजहरूकाे प्रतिक्रिया थियाे ।
सबैले उत्कृष्ट प्रस्तुती भनेर तारिफ गरिरहँदा जज सन्तोष पन्तले भने यस्तो किसिमको कमेडी नेपालीले नबुझ्ने र आफूले पनि नबुझेको प्रतिक्रिया दिएका थिए । उनको प्रक्रियापछि विक्कीले आँखाको आँशु पुछ्दै भने, ‘म प्रस्तुती सुरु हुनुभन्दा अगाडी सम्म पनि कन्फ्युज थिएँ, प्यान्टोमाइम गर्ने या स्ट्यानडअप गर्ने भनेर । तर मैले निस्कनु परे पनि प्यान्टोमाइन नै गर्ने निर्णय गरेँ । मलाई जिरो पर्सेन्ट पनि रिग्रेट छैन ।’
विक्कीले आफ्नो भनाइ राखेपछि शो मा अतिथि बनेर पुगेका किरण केसी (रातामकै) ले उनको प्रस्तुतीको तारिफ गरिरहँदा उनी सम्हालिन सकेनन् र स्टेजबाट बाहिर निस्किए । भावुक भएका उनलाई जजहरुले सम्हालेका थिए ।






