एजेन्सी । मदिरा सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । स्वास्थ्यलाई हानी पुर्याउने चीज नखाएकै राम्राे । तरपनि मानिसहरू आफ्नै स्वास्थ्यमाथि खेलबाड गरी दिनहुँ मदिरा सेवन गरिरहेका हुन्छन् । मदिरा सेवन गर्नेकाे संख्या नै बढिरहेकाे छ ।
अझ चिसो बढी हुने मुलुकमा अल्कोहलका अम्मली झन् बढी हुन्छन् । नेपालमा सबैखाले अल्कोहललाई जनाउन ‘रक्सी’ शब्द प्रयोग गरिन्छ । यहाँ झन्डै ३९ प्रतिशत घरधुरीमा रक्सी पिइन्छ । यसमध्ये २८ प्रतिशत महिला रक्सी पिउँछन् ।
अल्कोहलले जनस्वास्थ्यमा तत्कालीन र दीर्घकालीन रूपमा असर पारिरहेको हुन्छ । त्यसबाट कसरी उपचार र मुक्ति लिन सकिन्छ भन्ने सवालमा चिकित्सकिय चर्चा यसरी गरिएको छ ।
मदिरा सेवनपछि के खाने ?
रक्सी डिहाइड्रेसन गराउने कारण भएकाले रक्सी पिउनुभन्दा कम्तीमा एक घन्टाअघि र रक्सी पिएको एक घन्टापछि फलफूलको रस, प्रशस्त पानी पिउनु बेस हुन्छ । साँझ रक्सी पिएको छ भने पेट बिग्रने सम्भावना घटाउन भोलिपल्ट बिहान एउटा स्याउ, स्ट्रबेरी वा ‘बेरी’ प्रजातिका फलफूल खानु उत्तम हुन्छ । नुनमा लवण र पानीको मात्राले ‘इलेक्ट्रोलाइट’ तत्वको क्षतिलाई ठीक गर्छ ।
जुन तत्वले शारीरिक क्रियाशीलतामा मनोवैज्ञानिक सन्तुलन मिलाउँछ । साल्मोन जातको माछामा हुने ‘भिटामिन बी–६’ र ‘ओमेगा–३’ ले टाउको वा जिउ दुःख्ने समस्या हट्छ । ओमेगा–३ ले मनस्थिति (मुड) ठीक गर्न सहयोग पुर्याउँछ ।
साल्मोन नपाए पनि हामीकहाँ ट्राउट माछा पाइन्छ । पुदिना वा काँचो अदुवा पिसेर तिल, टिमुर आदि पनि लगाएर बनाएको चटनीले वाकवाकी, डकार, पेट तथा वायुसम्बन्धी समस्या (ग्यास्ट्रिक डिस्ट्रेस) हटाउन रक्सीपछिको खानासँग लिनु राम्रो हुन्छ । रक्सी खाएपछि कम्तीमा २४ घन्टासम्म चिया, कफीजस्ता ‘क्याफिन’युक्त पेय नलिनु उत्तम हुन्छ ।






