काठमाडौं । हाँस्य कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । उनलाई बुढानिलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिएका छन् ।
अमेरिकामा बस्ने एक युवतीले बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा बलेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको उनले बताएका छन् ।
यस्तो छ बलेमाथि लागेको आरोप
अमेरिकामा बस्दै आएकी एक नेपाली युवतीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बलात्कारको आरोप लगाएकी हुन् । ती युवतीले सामाजिक सञ्जालमार्फत आफ्नो एक वर्ष अगाडिको घटना सार्वजनिक गर्दै लम्साल अमेरिका पुगेका बेला आफूलाई जबर्जस्ती करणी गरेको दाबी गरेकी छिन् ।
उनका अनुसार लम्सालसँग पारिवारिक चिनजान रहेका कारण लम्साल अमेरिका पुगेका बेला उनले भेट गरेकी थिइन् । भेटमा लम्सालले आफ्नो बसोबासको ठाउँ हेर्ने अनुरोध गरे । अपार्टमेन्ट पुगेपछि आफ्नो स्वास्थ्य, व्यक्तिगत संघर्ष र मानसिक अवस्था बारे खुलेर कुरा गरेको बेला लम्सालले आफूमाथि बलात्कार गरेको उनको आरोप छ ।
दाइझैँ विश्वास गरेको व्यक्तिबाट यस्तो व्यवहार भएको भन्दै उनले स्टाटसमा उल्लेख गरेकी छन् । उनले ‘कसैको जिन्दगी बर्बाद गरेर बाँच्दा कस्तो महसुस हुन्छ ?’ भन्दै सामाजिक सञ्जालमै लम्सालमाथि प्रश्न गरेकी छन् । साथै, उनले परिवारमा असर पर्ने डरले तत्काल कुरा बाहिर ल्याउन नसकेको पनि उल्लेख गरेकी छन् ।






