एजेन्सी । महिनावारीको समय अधिकांश महिलाहरु पेट दुखाइको समस्याबाट गुज्रिरहेका हुन्छन् । विशेषगरी तल्लाे पेटकाे दुखाइ सहन नसकेर कतिले औषधि समेत सेवन गरिरहेका हुन्छन् । महिनावारीको समयमा तनाव लिँदा पनि दुखाइ हुन सक्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । अन्य समस्याका कारण पनि महिनावारीमा दुखाइ हुने गर्छ ।
महिनावारीकाे समय कम्मर र फिलामा दुख्ने, पेटको तल्लो भाग दुख्ने, पेट फुल्नु/टाउको दुख्ने हुन्छ । यस्तै कसैलाई अचेत हुने/वान्ता गर्ने, पसिना आउने, रिंगटा लाग्ने, पखाला लाग्ने, कब्जियत हुने समस्या पनि देखा पर्छ ।
दुखाइ कम गर्ने प्राकृतिक तथा घरेलु उपाय
यदि सहनै नसक्ने गरी पेट दुखेमा चिकित्सकको परामर्शअनुसार औषधि सेवन गर्न सकिन्छ । कुनै केसमा चिकित्सकले हार्मोनल बर्थ कन्ट्रोल पिल्स सेवन गर्न पनि सल्लाह दिन्छन्, ताकि गर्भधारण पनि रोक्न सकियोस् र यसले तपाईँको मासिक दुखाइमा पनि राहत मिलोस् ।
दैनिक शारीरिक व्यायाम गर्ने, योग वा ध्यानमार्फत् तनाव कम गर्ने, धुमपान र मद्यपानबाट टाढा रहने, तातो पानी राखेको रबरको थैलोमा राखेर दुखेको ठाउँमा सेक्ने, मस्तिष्कलाई आराम दिने अभ्यास गर्ने, मसाज गर्ने, तातोपानीले नुहाउने, अदुवा, सुप सेवन गर्ने गर्नाले दुखाइ कम हुन्छ ।






