एजेन्सी । मध्ये प्रदेशको मुरेनाम कमलेश कुशवाहका छोरा १६ वर्षीय पिल्लुले कोरोनाविरुद्धको खोप लगाउँदा उनको स्वास्थ्य अवस्था बिग्रिएको छ । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।
खोप लगाएपछि उनलाई रिंगाटा चलेको, मुखबाट फिँज निस्किएको भारतीय सञ्चार माध्यम आजतकले उल्लेख गरेको छ । त्यसपछि उनलाई उपचारका लागि ग्वालियर रेफर गरिएको छ । पिल्लु बिरामी भएपछि उनको परिवारले भ्याक्सिन सेन्टरमा हंगामा मच्चाएका छन् ।
मुरेनाका चिफ मेडिकल एण्ड हेल्थ अफिसर डा. एडी शर्माका अनुसार बिरामी युवक ग्वालियर गए या गएनन् भन्ने सोधिखोजी भइरहेको छ । अहिले यसबारे अनुसन्धान भइरहेको छ । प्राप्त जानकारी अनुसार ती युवक अस्पताल नगइ घरै फर्किएका छन् । आइतबार बिहान एक चिकित्सक टिम पिल्लुको घरमा पठाइएको डा. शर्माले बताए ।
उनले भने, ‘एक बालकलाई कोभिड भ्याक्सिन कसरी लगाइयो भन्ने कुराको अनुसन्धान गर्न आदेश दिइएको छ । पिल्लुको आधार कार्ड पनि जाँच गरिने छ ।’ पिल्लुको आधार कार्डअनुसार उनको उमेर १६ वर्ष छ । जन्मतिथि १ जनवरी २००५ हो ।






